सावित्री चौधरी

सावित्री चौधरी

मलाई नि:शर्त छोएर जाने
बतास ! ओ निष्ठुरी बतास
तिम्रो चिसो चिसो सिरसराहटमा
गोधूलिको धुर्मिल धुर्मिल होस् वा
झिसमिसको रिमरिम
तिमी गुनगुनाउनू सुसेल्दै ‌ओठहरू जोडेर
भित्रभित्रै भमराको भुनभुन
एकसुरले विन्दास
हिँड्नू
ढल्क ढल्क काँधमा छड्के टोपी ढल्काउँदै
तै म ब्याकुल हुन्न
कहीँ एकान्तबाट कस्ले प्राण भर्यो बाँसुरीमा
मेरो मुटु टुक्री
छाती किन रेट्दैन यसले रयाइँ रयाइँ
धुन बजाउनु त्यो
मैले पिउने सुस्तरी जहर
बाजको एकै झमटामा मुर्छा पर्थे बरु
यादको पहाडमाथि
वर्षौ वर्ष बन्यौ तिमी यादको पहाड
उही फूल उही जून
उही बादल उही वर्षा
उही ऋतु उही मौसम
यादहरू उक्लिरहे
यादहरू झरिरहे
झलझली आँखामा
फूलको मौसम लिएर
रातमा भिजेका परेलीहरूको नीर
तिमी टोलाउँदै हेर्ने पहाडका ए टाकुराहरू
के बात गर्छौ ?
आकाशसँग हावासँग
कति ताक्छौ आकाशलाई
वर्षौदेखि हातमा मखमली मफलर बोकेर
ए पहाडका उदास आँखा
तिम्रो आँखामा खै किन आज उसको प्रतिच्छाया देख्दछु ।

कुशुन्ति‚ ललितपुर