रोमकान्त सापकोटा
मानव मनका कवि तिमी, महाकवि तिमी
प्रयोगवादी साहित्यमा, सृजनामा तिमी
खण्डकाव्य, महाकाव्य, कविता फुट्कर
निबन्ध र नाटक सबै, अमर युगौँ भर।
नेपालीमा, अंग्रेजीमा, गद्यमा, पद्यमा
सबै कृति अमूल्य छन, प्रकाशित मध्यमा
वर्डस्वर्थ, बाइरन, शेली, किट्स र, क्लरिजको बाटो
लियौ धार रोमान्टिकको,परिष्कारको साटो।
दृश्यलाई सुन्ने तिमी, शब्दलाई देख्ने
हृदयको मसी चोबी, मनको भाव लेख्ने।
भावनाको बगैंचामा, फक्रिएर फुल्ने
हृदयको ढोका खोली, अधरबाट खुल्ने।
पग्लिएर तरल बनी, बग्न सिकायौ
प्रकृतिको सुन्दरतामा, रम्न सिकायौ
मानव सेवा धर्म भनी, बुझ्न सिकायौ
आत्मा नै हो मन्दिर भनी, पुज्न सिकायौ।
स्वच्छन्दतावादको तिमी, बिगुल बजायौ
सबै विधा लेखन भित्र, त्यसलाई सजायौ
सरल तिम्रो जीवनी, विशिष्ट कृतित्व
मानवतावादी कवि, उच्च व्यक्तित्व।
कवि सापकोटा अन्तररास्ट्रिय नेपाली समाज (इन्स) का भाषा तथा साहित्य समिति, वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।