म नहुने हो भने—
पूर्वमा उज्यालो कसरी हुन्थ्यो ?
चरीको चिरबिर कसले सुन्थ्यो ?
सिरसिर हावा कसरी चल्थ्यो ?
घुम्दाघुम्दै पृथ्वी गल्थ्यो
राहु रविको रश्मि थुन्थ्यो
घोर अँध्यारो जगमा हुन्थ्यो ।

मेरै इसारामा—
वाग्देवीले बोली भर्छिन्
प्रकृति महमा मिठास छर्छिन्
मुसुक्क हाँसी फूलले हेर्छन्
ऋतु धराको फरिया फेर्छन्
विष्णु, शिवजी वशमा पर्छन्
ब्रह्माजीले सृष्टि गर्छन् ।

मलाई लाग्छ—
सबै छन् अल्पबुद्धिका
म मात्रै ज्ञानसागर
अरू आलस्यका मूर्ति
मेरै मात्र छ जाँगर
म हुँ त्रिकालको ज्ञाता
त्रिलोकै राख्छु साथमा
परमात्मा बसेका छन्
मेरै सुन्दर गाथमा
अरूले छोए पानी हुन्छ
मैले छोए अमृत बन्छ
मैले लेखे दर्शन हुन्छ
लम्पसारले हो हो भन्छ
मैले खुवाएँ जनले खाए
मैले दिलाएँ अनि पो पाए
मेरै थाङ्ना सबले लाए
सुर मेरै हो अरूले गाए ।

म के गर्छु—
सदाचारको भाषण गर्दै
दुर्योधनझैँ दागा धर्छु
नारीवादी कविता रच्दै
अर्धाङ्गिनीकै हिंसा गर्छु
माताद्रोही पुत्र बनाई
महिलाहरूकै हुर्मत लिन्छु
मिठो बोली वशमा पारी
ब्वाँसाले झैँ आन्द्रा छिन्छु
चिलले जस्तै कावा खाँदै
शकुनिले झैँ चाल्दछु चाल
ढाँट्नु मेरो धर्म हो ढाँट्छु
नैतिकताको नगरी ख्याल ।

ऐना हेर्दा—
आफ्नो आङको भैँसी नदेख्नेले
अर्काको आङको जुम्रा देखेजस्तो
आफू उल्टो उल्टो गरेर
अरूले सुल्टो गर्नुपर्छ भनी लेखेजस्तो
नक्कली धामीले कामेजस्तो
हुटिट्याउँले आकाश थामेजस्तो
बाघको छाला ओढेको छट्टु स्यालजस्तो
बाहिर गम्भीर भित्र ख्यालख्यालजस्तो
जालझेल र षड्यन्त्रको कीर्तिमानजस्तो
विरोधीको खोल ओढेको हनुमान्जस्तो
कामचोरको जस लिने कुराजस्तो
मुखमा रामराम बगलीमा छुराजस्तो
साधुको भेषमा चोरजस्तो
चोरकै ठुलो स्वरजस्तो ।

मलाई के भयो ?
कुन आकाङ्क्षाको दमनले कुण्ठित भएँ ?
कुन मनोग्रन्थिको विकारले चिन्तित भएँ ?
यो परपीडक प्रवृत्तिको मनोग्रस्तता हो ?
वा
अन्तर्मनको सेन्सर पर्खाल भत्किएको हो ?
कुन एन्जाइटीले ग्रस्त छु म ?
हीनता, क्रोध, निराशा वा अन्तर्द्वन्द्व
कि मनोरोगको पराकाष्ठा ?