एउटा बन्द कोठाभित्र
पल्टाइरहेको छु जिन्दगीका पूराना
च्यातिएका मक्किएका र थोत्रा भएका पानाहरू
खोजिरहेको छु जीवनमा कतै
छुटेका चुकेका पछि परेका गर्न बाँकी रहेका
जिन्दगीका रङ्गहरू
आफँैले आफँैसँग मूल्याङ्कन गर्न निर्णायक भएर
बन्द कोठाभित्र
अनिश्चित र विरोधाभावपूर्ण
समयसँग सङ्घर्ष गर्दै
म विज्ञानलाई सोधिरहेको छु
नीतिशास्त्र राजनीतिशास्त्र
धर्मशास्त्र ग्रन्थहरूबीच खोजिरहेको छु
प्रकृतिलाई उसैगरी प्रश्न सोधिरहेको छु
कतैतिर कसैगरे पनि
भेटाउन सकिनँ वर्तमान लेखिएको एउटा अक्षर पनि ।
बाहिर विज्ञान
लडिरहेछ छ छट्पटाइरहेछ युद्ध मैदानमा
म भित्रभित्रै आफँैले आफँैसँग
युद्ध गरिरहेको छु मृत्यूसँग
मेरा विचार अध्ययन, कल्पना दर्शन चिन्तन मनन
मेरा युद्धका हतियार लिएर
पिञ्जडामा थुनिएको चरीझँै
बसिरहेको छु बन्द कोठाभित्र
रहर बिनाको समयलाई धिक्कार्दै
सराप्दै छु नालायक मनुष्यलाई
चिन्ता गर्दछु विश्वको
प्रार्थना गर्दछु ईश्वरसँग
हेरिरहेको छु विश्वको मानचित्र
बन्द कोठाभित्रबाट
म कसरी संवाद गराँै
म कसरी सम्झौता गराँै
म कसरी हातेमालो गरौँ
मेरो समयसँग दुश्मनी भएर ।
यो निष्ठुर समयसँग
खै त मेरा भन्नेहरू
खै त यी मानव समुदायहरू
आफ्नै मृत्युको मलामी आफैँ हुनुपर्ने
श्रद्धासुमनका फुलपातीसहित
एउटा कात्रोभित्र पनि सजिन नपाउने
प्लास्टिकको पोकोमा गुटमुटाउँदै
न शंखको एकोहोरो धून
न त राम राम सत्य हो
एकपटक अन्तिम अनुहार पनि
रहर लागेर हेर्न नपाइने
कति कठोर भइदिइस् हे समय
म हार्ने छैन
आत्मबल गिराउने छैन
मृत्युलाई जितेर
बाँधिएको र निस्सासिएको बन्द कोठालाई छोडेर
खुला आकाशमा, उदाउने छ नयाँ घामका झुल्काहरू
सयौं सपनाहरू र लक्ष्यहरू लिएर
हुनेछ पुर्नजन्म र पाउनेछ नयाँ जीवन
बस् सङ्घर्ष गरीरहेको यो समयसँग बन्द कोठाभित्रबाट ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ माघ २०८२, मंगलवार 







