बाछिटा लघुतम काव्यिक उपविधा हो । यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ । जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप, दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ ।

बाछिटा रचना तीन-पाँच-तीन अक्षरयुक्त तीन पङ्क्तिमा गरिन्छ । बाछिटाको पहिलो पङ्क्तिले विषयवस्तुको उठान गर्नुपर्छ । बाछिटाको दोस्रो पङ्क्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ । बाछिटाको तेस्रो पङ्क्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ ।

बाछिटाको तीन पङ्क्तिबिच भाव र अर्थगत सामञ्जस्यता हुनैपर्छ । बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ । बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ । बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ । बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ । बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ ।

बाछिटालेखनमा उल्लिखित मान्यताको सर्वोपरि महत्त्व रहेको छ। तीन-पाँच-तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ । बाछिटा काव्यिक उपविधा हो । यसको लेखन सहज पनि छ र असहज पनि छ । बिम्ब के हो ?  प्रतीक के हो ?  वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरी गर्न सकिन्छ ?  भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहज बन्न सक्छ । साथै मानवजीवन र मानवजीवनका सम्पूर्ण क्रियाकलापहरूलाई प्रकृतीकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवनभोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थिति पनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटालेखन सहज बन्छ ।

अमर त्यागी

बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहित प्रवर्तन गरेका हुन् । प्रवर्तनको छोटो समयमै अनेकौँ अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिँदै आएको छ । अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरू प्रकाशनका लहरमा छन् । साहित्यपस्टको  “बाछिटा प्रकाशनमाला- ११” मा बाछिटालेखनमा सक्रिय अभियानकर्ताहरू नानीमाया सनुवार’नामासु’, सृजना खनाल, शान्ति सिग्देल, चन्द्रकला अधिकारी र बिन्दा पराजुली बरालका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन् । यसपछि अन्य अभियनकर्ता तथा सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन् । सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहत् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो ।

-अमर त्यागी

पाँच दर्जन बाछिटाहरू

१. नानीमाया सुनुवार ‘नामासु’

नानीमाया सुनुवार

गगन
बादलु घेरा
नयन

छनोट
मैत्रित्व सग्लो
बनोट

पहरा
जुनीमा प्रीति
लहरा

चिन्तन
सुनमा कसी
मन्थन

टक्कर
नियत फल
ठक्कर

जवानी
फूलको रूप
कहानी

अँगालो
सम्बन्धशोभा
सँगालो

अँगाल्नु
पत्थर मन
पगाल्नु

मिठास
सुगन्धमय
आभास

सम्बन्ध
माकुरा जालो
प्रबन्ध

उच्चता
इमान शैल
सभ्यता

जन्जिर
बन्द देवता
मन्दिर

<><><><>

२. सृजना खनाल

सृजना खनाल

निर्दोष
आगो विद्वेष
आक्रोश

सहर
मन इखले
बगर

सञ्चय
मह मौरीको
विजय

जङ्गल
हरियोपन
मङ्गल

सङ्गम
गृहस्थयात्रा
जङ्गम

विपन्न
मन्छे सन्तोष
सम्पन्न

रहर
उजाडपन
कहर

तरङ्ग
विरक्तपन
भरङ्ग

शृङ्गार
रम्य वसन्त
संस्कार

जलधि
शान्त स्वतन्त्र
संस्कृति

सामन्त
वैभव लोभ
अनन्त

जीवन
भोगको अन्त्य
मरण

<><><><>

३. शान्ति सिग्देल

शान्ति सिग्देल

सपना
फलेको वृक्ष
बिपना

भावना
वर्षाको मूल
चेतना

नेपाल
घरको धुरी
हिमाल

असल
श्रम सुन्दर
फसल

धरामा
सुवर्ण फल
गरामा

हिमाली
शानका सच्चा
नेपाली

पिरको
भूकम्प धक्का
शिर

सद्भाव
वासन्ती मुना
प्रभाव

कविता
भावनभको
सविता

द्यूतको
शकुनि खेल
गुटको

शशीको
चमक ज्ञान
मसीको

दरिलो
कृतिको खेती
भरिलो

<><><><>

४. चन्द्रकला अधिकारी

चन्द्रकला अधिकारी

आकाश
चैतन्य चेत
प्रकाश

गुलियो
कुर्सीको मोह
चुलियो

अभाव
सुक्खा खडेरी
प्रभाव

पिरमा
जीवन भोग
भिरमा

बस्तीमा
ढाडे बिरालो
मस्तीमा

सागर
चेतना स्वत्व
संसार

घोटाला
कर्ममा नेता
गोठाला

जतन
सभ्यता शैल
वतन

संस्कृत
सत्यवचन
अमृत

सिमाना
भत्केको जुनी
वेदना

झझल्को
मेघ बिजुली
अगुल्टो

क्षतिज
हिमाली शोभा
दीक्षित

<><><><>

५. बिन्दा पराजुली बराल

बिन्दा पराजुली बराल

वर्षमा
वसन्त पुष्प
हर्षमा

कर्मले
धरती फल्छ
पर्मले

वर्षाको
बाढी पहिरो
तृष्णाको

भानुको
प्रकाश शान
ज्ञानको

दबाब
तुजुक अग्नि
प्रभाव

बिहानी
घामको लाली
जवानी

वसन्त
प्रीत मनमा
जीवन्त

बिक्रिती
स्वार्थको कालो
संस्कृति

हिमाल
कर्मणा उच्च
कमाल

गर्व
जीवनज्योति
हर्षको

निर्मल
प्रेमछहारी
शीतल

आदर
अनन्त शान्त
सागर