खेतबारीलाइ चाहिन्छ किसान
सबै नेपालीमा हुनुपर्छ
देश जोगाउने भिजन ।

हिजो मेरो दुई हात जग्गा मिँचिदा
म चुप रहेँ
चित्त बुझाएर
कि
मर्दा पर्दा चाहिने त ऊ नै हो सोचेँ
आखिर छिमेकी त पर्यो ।

अनि फेरि मेरो चार हात जग्गा मिँचिदा पनि
म चुप नै रहेँ
चित्त बुझाएर कि
ऐँचो पँैचो गर्दा चाहिने त ऊ नै हो नि सोचेँ
आखिर छिमेकी न पर्यो ।

तर आज मेरो जन्मभूमिको जमिन मिँचिदा नि
म चुप नै रहेँ
मेरो आवाज कसैले नसुन्ने मनासायले
तर
अब त अत्ति भयो
मेरो सहनसिलताले सीमा नाघ्यो
अब म चुप लाग्नेवाला छैन
अँहँ चुप लाग्नेवाला छैन ।

मेरो सुन्दररूपी जन्मभूमिलाई हड्प्ने
ति दुष्ट छिमेकीलाई म छोड्दिनँ
हो म अब चुप लागेर बस्दिनँ
म अब हाम्रो पुर्खाको रातो रगत
र परिश्रमको पसिनाले अर्जेको हाम्रो भूमि बचाएरै छाड्छु
परिआए ज्यानको बाजी नै पनि लगाएरै छाड्छु
हो लगाएरै छाड्छु ।