राजेन्द्र कार्की (क्यानाडा)

काठमाडौँमा
माटाले
ढुङ्गाले
सिमेन्टले
धातुले
काठले
बनेका
थरी-थरीका मूर्ति छन् ।

ती मूर्ति
कहिल्यै बोल्दैनन्
कहिल्यै चल्दैनन्
पूजा गरे पनि
पूजा नगरे पनि
सट्टामा केही माग्दैनन्
आशीर्वादसँग
सौदाबाजी पनि गर्दैनन् ।

लड्डु चढाए पनि
बली लाडाए पनि
खानु त के
छुँदा पनि छुँदैनन् ।

भक्तसँग भोक लाग्यो
झन् कहिल्यै भन्दैनन्
ती नबोल्ने मूर्ति शान्त छन्
बरु किन हो ?
अशान्त छन्
बोल्ने (न्याय) मूर्ति अचेल !

कोटाको कसीमा घोटिएर
भागबन्डाको भागमा परेका
ती मूर्ति साह्रै भोकाउँछन्
भोक मेट्न
कता कता धाउँछन्
बिचौलिया समाउँछन्
सत्य बक्नेलाई
अवहेलनाको डन्डाले ठोक्छन् ।

स्वास्नी मार्ने लोग्नेको
दोष नेदेख्ने त्यो (न्याय?) मूर्तिले
न्यायको तराजुमा
“न्याय जोखेन
लेनादेना जोख्यो”
भन्दै कोलाहल मच्चाउँदै छन्
न्यायको मृग तृष्णामा
भौतारिने सारा जगत् !