सुशील नेपाल

चन्द्रवदन, तिमीले मास्क लगाउन थालिछ्यौ,

तर तिम्रो त्यो छोपिएको अनुहारले

ममा एउटा कौतुहलता जन्माएको छ,

तिम्रो मुस्कान मोनालिसाको भन्दा कम छैन होला

भन्ने मलाइ अझै लाग्छ,

यो कुरा म बार-बार सोच्ने गर्थेँ

त्यो मास्कले बरबाद गरिदियो,

यो माहामारीको त्रासदी,

र तिम्रो ओठको कामुकता,

मलाइ एउटा कायलप्रेमी हुनबाट बचाउन सकेन,

हो चन्द्रवदन ,

तिम्रो त्यो ओठमा अटाएको अमृतको समुद्रलाई

एउटा जाबो मास्कको टालोले,

छेकिदियो,

जब यो महामारीपछि हठात् तिमीले मास्क

हटाउँली तिम्रो मुस्कानको बबन्डर र

अमृतको बाढीले बगाएर,

म अदनालाई कहाँ पुऱ्याउने होला?

मलाई डर लागिरहेको छ,

एकाएक जब तिमी मेरो सामु परौली,

म के गरुँला ?

मेरो कौतुहलले मलाई प्रश्न गर्ला,

कस्तो होला चन्द्रवदनको ओठबाट,

हठात् बग्ने अमृतधाराको भेल ?

पर्ख, यो दुई बर्से महामारीको अन्तरालपछि,

तिमी हठात् मेरो अगाडि ,

नआउनू,

चन्द्रवदन,

मलाई समय चाहिन्छ,

मैले आफैँलाई तयार गर्नुपर्छ,

तिम्रो ओठबाट चुहिने

मधुलाई पाउने स्वप्निल चाहानाको दास हुन

मन्जुर गरेको छु,

चन्द्रवदन,

तिम्रो त्यो मास्कविहीन अनुहार,

र मेरो कौतुहलताले मलाई,

एउटा पागलप्रेमी नबनाई

छाड्ला के ?

पर्ख, यो महामारी

सकिन देऊ !

८/१७/२१

राजमित्र प्राङ्गण,

माल्डेन, बोस्टन

अमेरिका