चुलबुले बालकको बाटुले नीलो आँखाजस्तो छ
मेरो देशको नक्सा
बिस्तारै कोर–
सानै केरमेटले पनि नानीमा चोट लाग्न सक्छ !
माथिमाथि– धारिला पिरामिडजस्ता हिमश्रृङ्खला छन्
माझमा– ढाका टोपीझैं अग्लिएका पहाड, देउराली छन्
अलि तल– आमाको काखजस्ता न्याना फाँटहरू छन्
जतनले कोर सीमानाका रेखा
तीखो कलमको एकै घोचाइले पनि दुख्छ देशको छाती
पश्चिमतिर गर्विलो छातिझैं फुकेको
माझमा बैंशालु कम्मरझैं छिनेको
पूर्वमा ’जोडिएका दुई पाउझैं’ टपक्क मिलेको
भर्भराउँदो यौवनाजस्तो छ मेरो देशको नक्सा
र त लाउँछ आँखा छली दुनियाँ !
कृपया ! बिस्तारै कोर
साँध, सीमानाका एकएक बिन्दु ख्याल राख
र याद राख– ए नक्सा बनाउने हात !
नौनीजस्तो कोमल मन छ एउटा
देशको मानचित्र भित्र ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ माघ २०८२, मंगलवार 









