शोभा खतिवडा

 

धर्तीको गहमा छ भव्य गहना
नेपाल हाम्रो धरा

शोभा खतिवडा

योभन्दा अरु सुन्दर भुवनमा
अर्को कुनै खै छ र ?
मेरो राष्ट्र सुशान्त दिव्य धन हो
नेपाल भूस्वर्गको
यस्तो सभ्य मुलुक जगतभर कतै
खोजी कता मिल्छ हो

शोभाको अति उच्च भाव रसिलो
यो देव धर्ती छ है
आभाको शुभ स्वच्छ राग गतिलो
यो वेदजस्तो छ है
यस्तो पावन भूमिको हृदयमा
बास बसौँ है भनी
ईश्वरीहरू दाहिने बनी ऋचा
जपिरहन्छन् अनि

हाम्रो देश हिमाल, लेक, छहरा
खोला र छाङ्गाहरू
राम्रो भेष पहाड देश झरना
डाँडा र पाखाहरू
थाङ्ग्रो शेष अपार टेक मनमा
भाका र नाताहरू
आफ्नो ठेट प्रभाव भाव तिनमा
आशा भरोसा बरु

आँखा खोल तिमी बिहान नभमा
हाँस्दै छ धर्ती सबै
पाखामा शुभ अंशुले नयनको
भाषा दियो रापिँदै
आभा भव्य छरी सुवास मनमा
छाडी अनौठो अति
शोभा सभ्य दिई सुभाष तनमा
राखी दिलैमा कति

माटोमा पनि फूल फुल्छ सहजै
रोपौँ धरामा खुशी
बाटोमा अनि मूल फुट्छ लहरै
खोपौँ दरामा बसी
पाटोमा रमी बोट फल्छ कलिलै
छोपौँ गरामा पनि
फाटोमा अनि रश्मि झर्छ सजिलै
बोकौँ परामा अनि

मौलाई फल फूल जोश मनको
हाँसो बनेको मिठो
फैलाई बहँदो सुवास जसरी
मानौँ बतासै चिसो
शोभा हो शुभ यो अपूर्व पनको
हाँसो दिएरै पनि
पेवा हो भव यो सुशान्ति मनको
नाशो बनेरै रमी !

डाँडामा यसरी अगम्य लयमा
फुल्दै रमाइकन
हाँसेको सहजै सुरम्य वयमा
झुल्दै सजाई बन
बेलीचाँप मिठो सुवास छर्दै
हाँस्छन् भूमिमा रमी
यो मातृभूमिमा हजार दीपझैँ
बालौँ सधैँ म पनि

छोएको मनले हिमाल नभमा
माया जगाइकन
धोएको मनले पहाड तनमा
छायाँ सजाई झन
यस्तो दिव्य छटा नेपाल भरको
पाइन्न है विश्वमा
कस्तो भव्य कला बनाई जगमा
जाइन्न है अन्तमा

यस्ता दिव्य छटा छहारीहरूको
धर्ती अपूर्व धरा !
माटोको महिमा अपार कति हो
यो देश हो सुन्दर
यो भाषा अनि भेष जातहरूको
माटो पवित्रै गऱ्हा !
कैलाली अनि हेर धाम धरणी
नेपाल हाम्रो धर

मेचीका जलमा नुहाइ मनको
मैलो पखालौँ सधैँ
कालीमा म पुगेर ढोगुँ धरणी
जोगाई माटो सबै
यार्चाको बनमा हिमाल तनमा
खोजेर हाँसी रहूँ
पहाडी जनता तराई मनका
खोजेर माटो बरु

शुभा