महेश फुयाल

महेश फुयाल

म अरब
पस्न सकिनँ
त्यहाँ त
पैसा टिप्न पाइन्छ भन्थे
मलाई लाग्थ्यो
मैले नसके
सेतेले टिप्छ
हुत्तेले टिप्छ
तर ती मेरा सारथि
अब्बल रहेनन्
तिनीहरू त रातो बाकसका
सधैँका प्यारा भए ।

एउटा सपना
जुन मेरो थियो
सेतेको थियो
हुत्तेको थियो
पाखुरी चलाउने
गाउँमै सुन फलाउने
पेटभरि खाजा खाने
ठुल्ढुङ्गामा पलेँटी कसेर
डकार मार्ने
अब त खै त्यो
आउला जस्तै लाग्दैन ।।

उजेलीको झुत्रेको बर्को
उग्लिएको बाको फेटा
फेर्ने सपना
हात्तीछाप चप्पल
नलगाउने भाइको
त्यागलाई
अब छविले
मौन रहनु पर्ने भयो
किनकि टाइसुटमा
अफिस जाने उसको
सपना अपुरो भयो
ऊ इलम नपाएर
जिन्दाबाद र मुर्दाबादमै
अल्झिरह्यो ।

पखेरो बारीमा झिलुङ्गे नफलेको कति भयो ?
त्यहाँ त वनमारा फलेछ
बोक्सी फूल फलेछ
दौडेर एक सासमा
पल्लाघर पुग्ने बाटो
छोपिएछ
विरानो भएछ ।।

गट्टी खेल्ने
नयाँ घरको आँगन
हगी, झुमा, बुथी
चुङ्गी खेल्ने घुरेन
आज नचिनिने भएछ
एक थाङ्ग्रो मकै
फलाउने गैरी बारी
माले र फुर्के गोरु
नार्ने पर्खाइमा छ ।

चप्लेटीका सबै सल्लाहरू
खोटो निकालिएछन्
डढेलो लागेर सबै
सुकेछन्
मेरी आमाले
पूजामा, सराद्धमा
दुना, बोती गाँस्ने
सालका पात त
अग्राखका थाम भएछन्
चिलाउने, उत्तिस
सबै बटम बनेछन्
कोही छ फुटे, सात फुटे
नौ फुटे, कोही बाह्र फुटे ।।

विरौटाको मार्सी धान
सएलेको मास
गोधुलीमा किस्ने, साल्दाइ, भरिमाया
मिस्श्रीसँगै
मुरी धानका ढोक्रा
बोकेर
खाजा खाना नपाएको
सुठुनी र करेला खाँदै उकालो
लागेको
बिर्सिएर
हुत्ते अरब पस्यो
सेते शहर बस्यो
म सपनीमै रुमल्लिरहेँ ।

न्याउलीको आवाज सुनिनँ
तारीका खोलाको
पानी सुकेछ
बिच्छे गोरु चर्ने
रतुली, र पेटारी बाख्रो चर्ने
खरुकी मासिएछ ।।

दाइँ हाल्ने खलो देखिनँ
मियो भाचेर
फुर्के गोरु भागेको यादले चिमोट्यो
माइलीआमा र माइलाबा
भरे भोलिको भएका
अप्सरा भाउजू
छोरो पढाउन शहर बसेकी
कोरियाबाट हर्के दाइले
पठाएको पैसाले माइलाबाको
पटुका फेरिएनछ
गानो गएको बेला
तातो पानी दिने
माइलीआमा आफैँ
थलापरेकी
माइलाबाका
आँखा रसाए ।

पूर्णी गाई
सात बेतकी हुन्थी
माली, फुर्की, कैली
कोरली पाउँथी
सातमुरेमा
कति धान फल्थ्यो ?
साः खोला खेतका
हिलोआलीका ती
याद बगिरहे
अब त्यो
एउटा
सपना भयो ।।