रमेश आचार्य

 

रमेश आचार्य

नौ महिना गर्भमा

नौ वर्ष काखमा

बिना चोटखोट हुर्काएको कुरा

अनि

नौ वर्षसम्म सिकाएका जिम्मेवारी र संस्कारी कुरा

आमा तिम्लाई लाग्दो हो

छोराले भुलेछ।

 

थाहा छ मलाई, बदल्नु छ घरको छाना

आमालाई सितल हुने गाउनु छ एउटा गाना

मलाई

आमाका हात-खुट्टाका नङ नदुखाई काट्नुछ

पुराना खुट्टालाई नयाँ चप्पल साट्नु छ।

 

आमा

दिनभरि खेलेर साँझ घर फर्किदा फोहोर बनाएको नाना

तलिते स्वरमा राजा युद्ध लडेर आयो भन्दै तिम्ले दिएको खाना

आमा, मैले कसरी भुल्न सक्छु ?

 

तिम्रो सानो मोबाइलमा

ठूलो रिङटोन नबज्दा

अनि मेरो फोन नउठ्दा

आमा तिम्लाई लाग्दो हो

छोरो बद्लिएछ।

 

दिन भर मेलापात गरेर

साँझ टुकीको उज्यालोमा

खोलेको पटुकीको खाजाको पोको

अनि खाजा बोक्दा बोक्दा पुरानो भएको नयाँ पटुकी

बदल्न हिडेँको म

म आफैँ कसरी बदलिन सक्छु ?

 

कहिलेकाहीँ फोन नउठ्दैमा

दिनहुँजसो कल नगर्दैमा

खोला तरेको छोराले

जिम्मेवारीको झोला

बदलेको होला भनेर नसोच्नु आमा !