बितेर गयो तिहार पनि भाइ फर्की आएन
नभन्नु दिदी पोहोरझैँ टीका लगाउन पाएन
अर्को साल तर तिहारमा दिदी अवस्य फिर्नेछु
हजुरको हातको मखमली माला गलामा भिर्नेछु ।।

हे बैनी तिमीले हरविघ्न दाइका ओखरमा फुटाई
मिसाई मायाँ बनाई टीका कलश सजाई
लगाइदिऊँ भन्दा निधारमा टीका दाइ साथ नहुँदा
बुझायौ क्यारी कोमल मन दाइलाई सम्झँदा ।।

सपना मनका फुलाउन भनी प्रवास म आको
भएछ बर्सौँ तीजमा पनि म लिन नआको
धेरै बेर छैन बिहानी हुन उज्यालो पोखिन
कल्पेर अहो हर्षिन्छ मन चाँडै आ त्यो दिन ।।

दिदी र भाइको तिहारमा भैलो साथैमा गाऔँला
बैनीको हातको सेलरोटी मिठो बाँडेर खाऔँला
माइतीको घर मुटुझैँ प्यारो स्वर्ग ती आँखामा
नाचौली तीजमा बाबाको आँगन आमाको साथमा ।।

(‘आमाको काखमा दुखेको देश’ काव्यसङ्ग्रहबाट ।)