साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः देवताको स्वरूप

Chovar Blues Mobile Size

जीवन लामा

जीवन लामा

सुनैसुनले सिँगारिएका
पैतालादेखि शिरसम्म
शिरदेखि पैतालासम्म
नाक, कान, आँखा
सबै सुनैसुनले सजिएका
आहा, देउता जस्तो
कति राम्रो देउता
कति ठुलो देउता ।

बाटो पनि सुनकै
घरको छानो पनि सुनकै
हातखुट्टा सबै सबै सुनकै
सन्तान पनि सुनकै
दरसन्तान पनि सुनकै
आहा, देउता
मनको देउता
धनको देउता ।

अग्लो डाँडामा
झिलीमिली बत्ती बाल्दै
सजिएका पनि देउता
भिरपाखा, खोलानाला
बाटाघाटाको छेउमा
कुचुक्क अडिएका पनि देउता ।

चन्दा धन्दामा
बटुलिएका सुका, मोहरले
बनेका पनि देउता
करोडौँ दान र भिक्षाले
बनेका पनि देउता ।

sagarmani mobile size

मान्छेले निर्माण गरिदिएको छ

ढुङ्गाको देउता
सुन र तामाको देउता

मान्छेले नै भनिदिएको छ
सुखमा पनि देउता
दुःखमा पनि देउता
खुसीमा पनि देउता
पीडामा पनि देउता

त्यसैले
सबैको देउता
सबैमा देउता ।

फूलका थुँगा अनि
एक चिम्टी सिन्दूरले
राताम्य बनाएका पनि देउता

र नि मान्छे देउता बन्न सक्दैन
देउताचाहिँ बनाइरहन्छ ।
देउता पुजिरहन्छ
देउता विश्वासभित्रको अर्को एउटा विश्वास हो
मान्छेका लागि ।

 

प्रतिक्रिया
Loading...