सपना
म चाहान्छु
उसले ठूलो सपना देखेर
विपनाको हत्या नगरोस्
बस् !
एक पेट कमाओस्
मेरै आँखा नजिक बसेर
बेलुकाको खाना
मसँग खाओस्
र मेरै नजिक
घुप्लुक्क निदाओस्
टोपी जत्रै सपना देखेर
बस् !
टाउकोमै सजिन्छ देश ।
फरक झन फरक
किनकि
फरक गोलार्धमा
एकै पटक एकै समय
जून एउटै हुन सक्दैन
घाम एउटै हुन सक्दैन
आँखाहरू कसरी एउटै हुन सक्छन ?
सपनाहरू कसरी एउटै हुन सक्छन् ?
झन् मृत्यु त एउटै हुन सक्दैन
त्यसैले
पर्ख
कुर
प्रत्येक मृत सपनाबाट
एउटा सच्चा विपनाको जन्म हुन्छ
र
विपना जन्मिएपछि
सपनाहरूले गर्नु पर्दैन
फूलहरूले आत्महत्या गर्नु पर्दैन ।
निन्द्रा कि धन ?
तिमी मालिक भयौ
म मजदुरै छु ।
फरक यत्ति हो
तिमी पैसा भएर पनि
निद्रा किन्न सक्दैनौ र तड्पिन्छौ
म सडकको पेटिमा पनि
आनन्द निदाइदिन्छु ।
निद्रा बाँडेर बाँडिने भए
तिमीलाई म एक प्रहर निद्रा
सित्तै दिन्थे
र तिम्रो आँखामा
हेर्न चाहान्थे
श्रमको मूल्य ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

