ईश्वरा शिवा
झापा

एऽ पाखण्डीहरू हो !
मलाई मुटु घोच्ने बात देऊ
अगाडि अँगालो हालेर
लात देऊ पछाडिबाट
मान्छेलाई मान्छे नठान्ने चलन देऊ
दलित बनाऊ
के के सक्छौ देऊ ।

ईश्वरा शिवा

घृणा गर— घृणा सहिदिउँला
तिरस्कार गर— स्वीकार गरिदिउँला
अपमान गर— अपनाइदिउँला
भेदभाव गर— त्यो पनि सहिदिउँला
हो सबै देऊ, तिमी केके चाहन्छौ दिन ?
सबैसबै एकमुष्ट देऊ
र, कसेर हान मेरो अस्तित्वमा
फुटालिदेऊ— मेरो शक्तिशाली कन्चट
ज्योति–स्पर्श र द्धढ
भत्काइदेऊ—
वषौँदेखि थुनेर राखेको धैर्यको बाँध ।

तिमीलाई यसरी नै गलाउनु छ
गल्ने छौ एक दिन ।

सहँदा सहँदा पहाड बनेको यो छाती
बेलुनजस्तो छोयो कि फुटिहाल्दैन ।

एऽ शासक हो !
अब बन्नु छ मलाई ढुङ्गाको अचानो
यति बलियो कि
जबजब ब्राह्मणवाद
खुकुरी बनेर मेरो धैर्यमाथि प्रहार गर्छ
स्वयं टुक्रिने छ कहिल्यै नजोडिने गरी ।

हो म ढुङ्गा हुँ
उभिनु छ बीच सडकमा ढुङ्गै बनेर
र प्रहार गर्नु छ तिम्रो क्षुद्र विचारमाथि
किनकि,
म दलित हुँ, तिमीले बनाइदिएको ।

तर,
म त मान्छे हुँ ।