लीला अनमोल

 

लीला अनमोल

भावुकता फुस्किएर मनबाट
जब हृदयमा यवनको घाम लाग्छ
इन्द्रेनीको रङले लिपपोत गरेर
सजाउन मन लाग्छ यो जिन्दगीलाई
बिर्सिएर विष्मयका बाछिटाहरू
झिम्काउन मन लाग्छ उमङ्गको परेली
उपहास गरेर समयका आघातहरू
खित्किन मन लाग्छ एक फाँको मुस्कान
अङ्शियार भएर रहरको
हराउन मन लाग्छ सारा चेतना
पारिजात भएर आँगनभरि
स्वेच्छाको वासना फिँजाउन मन लाग्छ
विश्राम लिन मन लाग्छ कहिलेकाहीँ
जीवनका औपचारिकताहरूबाट
र बन्न मन लाग्छ रमिते
आफ्नै तृष्णा, रहर र उमङ्गहरूको ।

हरेक समय जिज्ञासा कल्पेर मन
भावुकता उमार्छ यसरी
कि मानौँ
शल्यक्रिया गरेर बौद्धिकता थला परेको छ
समयले अँठ्याएर आफ्नै छाती
साँचो मौलिकता पराजित भएको छ
निगरानीको साम्राज्यबाट भागेर
फेर्न मन लाग्छ स्वतन्त्रताको श्वास
र चोरेर चरीको उमङ्ग
एउटा पृथक् आकाश उड्न मन लाग्छ।

यस्तो लाग्छ कहिलेकाहीँ
झारेर बोटबाट एक थुङ्गो बैँस
फ्याँकेर पत्र पत्र उसको बगैँचाभरि
एउटा अनौठो दुरुपयोग गरूँ
उसको स्वभिमानको पहाड टेकेर
एउटा चकचके चुम्बन गरूँ
कोमलता झिकेर आफ्नै छातीबाट
स्पर्शको मायालु सुवास छरूँ
र भेला गरेर पाखाभरि गुराँसको उत्ताउलो
पोखुँ आफ्नै अङ्ग अङ्ग
लाग्छ,
छोएर क्षितिजको उन्मादी रङले
रङ्गाऊँ जीवनका चन्चले वसन्तहरू
रुझेर यौवनको सिमसिमे झरीमा
अनन्त आनन्दको महशुस गरूँ
अङ्गालेर त्यो गहिरो रात पनि
सल्काएर अनुभूतिको आगोले उज्यालो पारूँ
छोपोस् शून्यमा उडेको
जिन्दगीको उदासी छायाँ बादलले
याद फुत्किएर आँखाबाट
ऊ बगेको पल
साँच्चै यस्तो लाग्छ
हिँड्न बिर्सिएर जीवनको जेब्राकसबाट
एउटा मीठो दुर्घटना गरूँ ।

बिर्तामोड, झापा