साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः यो सहर

Chovar Blues Mobile Size

 

प्रल्हाद ढकाल

म अनभिज्ञ नै छु
कहाँ छ यो शहर
मैले पुगेर देखिनँ
या देखेर पनि पुगिनँ

मैले
यहाँको सडक
चोक, गल्ली-गल्ली
त्यहाँ कूद्ने रङ्गीन मोटर
उनीहरूको भड्किलो खर्च
र उनीहरूको
धक्का-धक्कामा खोजेँ सहर

मैले
फोहरका डिब्बा-डिब्बामा
खोतलेर
त्यसमा फालिएका रोटी
समाचारपत्रहरू
र त्यहाँको राजनीतिमा खोजेँ सहर

मैले
गर्मीमा खाली खुट्टा
ठण्डीमा अर्धनग्न भएर
दाइ, दिदी, साहुजी, सर, साहेबहरू
र उनीहरूले
फ्याँकेका टुक्राटुक्रामा खोजेँ सहर

sagarmani mobile size

मैले
कलिला विवश दिदीबहिनी
र ग्राहकबीच भएका कुराकानी
मोलतोल, सौदाबाजी, अनि तिनका चित्कारहरू
र तिनका आँशुका थोपा-थोपामा
खोजेँ सहर

मैले
परिकारहरूले सुसज्जित
मिष्ठान्न भण्डार
रेष्टुरेण्ट, पब, पार्टी
र पिकनिकहरूमा
मुखमा र्याल काढ्दै
टाढैबाट खोजेँ सहर

मैले
बस स्टेसन
त्यहाँको चिसो ढलान
आराम मग्न म, मेरो साथी
मेरो निद्रा
र आउने जाने सपनाहरूमा
खोजेँ सहर

मैले
नेताहरुका भाषण
जुलुस र बन्दहरू
चुनावी घोषणापत्र
आदर्श, प्रतिबद्धताहरू
र व्यवहारहरूमा
खोजेँ सहर

मैले
यहाँ बाल्यपनका
दर्जन पतझरहरू खर्च गरेँ
तर पनि थाहा छैन
यो सहर कता छुट्यो
म कता परेँ !

प्रतिक्रिया
Loading...