सबेरै उठ्नु
सँघार खुर्कनु
ढोका पोत्नु
भाँडा मस्काउनु
चुलो पुछ्नु
सोफा टल्काउनु
मानौँ
उनको जीवनको अमृतमय समय
यसैगरी, पोखिरहेछ टुक्राहरूमा
रहर कसलाई हुँदैन
पखेटा उम्रेको चरी
स्वतन्त्र भई आकाशमा उड्ने
कोपिला खेलेको फूल निर्बाध फक्रने
वेगको हावा आफू खुसी बहने
तर………! , तर……..!!
अनुमति कहाँ छ र ?
सम्पन्नता कहाँ छ र ?
मानौँ
उनको जिन्दगी टालो हो
भुईं पुछ्दा-पुछ्दै सकिन्छ
खरानी हो भाँडा मस्काउँदा-मस्काउँदै पखालिन्छ
गिट्टी हो कुट्दा-कुट्दै धुलिन्छ
एक खिल्ली चुरोट हो
पिउँदा-पिउँदै सकिन्छ
खेलौना हो खेल्दाखेल्दै भाँचिन्छ
यसै-यसै गरी
हर सपना चुहिन्छन् थोपाहरूमा
रूमलिन्छन् बादलको पञ्जाहरूमा
अल्झिन्छन् जालोहरूमा
सल्किन्छन् भुग्रोहरूमा
अनि, समय ! समय नि ?
उनको सुनौलो समय
कत्ति संस्कारमा
कत्ति गहनामा
कत्ति पहिरनमा
कत्ति चुच्चे हिलमा
कत्ति आफन्तमा
कत्ति पाहुनामा
कत्ति सन्तानमा
समाधिस्थ हुन्छ।
कतिलाई थाहा छ, कतिलाई थाहा छैन
चन्द्रमामा पैतालाको डाम छाडेर
औँलाको डोब राखेर
सगरमाथाको टुप्पोमा झण्डा गाडेर
आकाशलाई फन्का मारेर
जमिनलाई चक्कर लाएर
रगताम्य युद्धमा बच्चा काखी च्यापेर
मैदान काँध हालेर
हृदयमा प्रेम छर्दै
पहाडमा शान्ति रोप्दै
आत्मामा सद्भाव फुलाउँदै
अस्त्रको युद्धमा हतियार
विचारको युद्धमा दिमाग चलाउँदै
कोक्रो हल्लाउँदै-पीडा जलाउँदै
लडेकी थिई
लड्दैछे
कहीँ पिँजडाबाट
कहीँ गुफाबाट
कहीँ दासताबाट
कहीँ खोरबाट
कहीँ महलबाट
कहीँ दैलोबाट
कहीँ गोठबाट
किनकि उनलाई
मुक्त हुनु छ
सबैखाले बन्धनबाट
जसको नाम हो, नारी !

 

सुनकोसी गाउँपालिका ५, सिन्धुली
हालः काठमाडौँ