डोरबहादुर केसी

 

डोरबहादुर केसी

यो मन खै कस्तो ! कस्तो !!
धागो छुटेको चङ्गा जस्तो
लगामबाट छुटोको घोडा जस्तो
ताल न बोतालसँग उड्न खोज्छ
बेढङ्गले कुद्न खोज्छ
सम्हालेर मैदानमा डोर्याउन खोज्दा
उल्टै अप्ठ्यारो बाटो रोज्न खोज्छ
यो मन खै किन यस्तो ?

चाडहरुले ल्याउने रमझम पनि
आँखाले देख्दै नदेखेजस्तो
कानले सुन्दै नसुने जस्तो
जिब्रोले स्वाद नै नपाएको जस्तो
यो समय खै किन यस्तो ?

मान्छेको भिडमा पनि
एक्लै हराएजस्तो
जंगलमा हिँड्दा बाटो बिराएजस्तो
रस चुसेको छोक्रा भूईँमा गिराएजस्तो
यो मन खै किन यस्तो ?

फूलैफूलको बगैँचामा घुम्दा पनि
भुमरिलो घुमोजस्तो
सयपत्री फूलको थूँङ्गा चुम्दा पनि
सिस्नो पातलाई चुमेजस्तो
यो मन खै किन यस्तो ?

शरद्का चाँदनी हिमाल हेर्दा पनि
आफूलाई नै गिज्याए जस्तो
आफ‌ैँलाई लाग्छ
कुहिरोमा हराएको कागजस्तो
बाजको छायाँमा परेको नागजस्तो
यो मन खै कस्तो ! कस्तो !!

थकित थकित भएजस्तो
चकित चकित भएजस्तो
दुस्मनको वज्र प्रहारबाट
अर्द्धमुर्छित भएजस्तो
यो मन खुब बरालिएको जस्तो ।

मदानो २, गुल्मी
हालः काठमाडौँ ।