साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बादशाहको कोरोना डायरी

Chovar Blues Mobile Size

भाग दुई

बिहानै घरको कौशीबाट
कफिको कडा चुस्की सँगै
उपरखुट्टी लगाएर
परको समुद्रमा युद्धपोतहरू गनिरहने
त्यो हाम्रो पक्षको जहाज भनिरहने
अलग्गै चम्किलो चेहेराको
बादशाह
आज ह्वेल उफ्रेको छप्ल्याङ्ग-छुप्लुङ्कको आकृति दुरबिनबाट हेरिरहेछ
माथि आकाशमा युद्द विमानका आवाज सुनेर आनन्दित हुने

चराका निस्फिक्री तुफानी बेग नियालिरहेछ
आज
जहाजको रफ्तारले बन्ने आकृतिमा
विश्वको नक्शा देख्ने ऊ
आज इन्द्रेणीका रङ्गहरूले लठ्ठिएको छ
जिन्दगीको रङ्ग रातो र कालो मात्र देख्ने ऊ
आज एक्कासि सप्तरङ्गी देख्दैछ
अनि
निशब्द केही लेख्दैछ —-।
उसलाई आज निकै गाह्रो छ
तरल परिवेश उसलाई सारो छ
किनकि
निस्फिक्री श्वास फेर्न पाँउदैन
हाच्छिउँ गर्न पाँउदैन
उसलाई थाहा थिएन
यहाँ कति मान्छेहरू श्वास नफेरी बाँचेका छन्
जिन्दगीमा केही नपाए पनि
मृत्युपछि आर्यघाट पुर्याइयोस् भन्ने
अन्तिम इच्छा साँचेका छन् —।
सिलिण्डरका सिलिण्डर अश्रुग्यासका च्याम्बर चलाउने
ठेकेदार बादशाह
उसले कहिल्यै अक्सिजनका सिलिण्डर बनाएन
किनकि उसलाई
जीवनमा भन्दा मृत्युमा बढी नाफा छ
जीवनको आँसु र हाँसो भन्दा निकै टाढा छ
उसले कहिल्यै कसैलाई एकमुठी श्वास
पैंचो दिएन
तर आज
अश्वत्थामा बनेर एकमुठी श्वाशको भिक्षा माग्दैछ —।
मानवताका महाभाष्य लेख्ने महामानव
उसकै कब्जामा थिए
विश्ववसुधैबकुटुम्बकम् देख्ने आँखाहरू
उसकै चस्मा भित्र कैद थिए
बल्ल आज उसले चस्मा फुकालेर
पुछ्दैछ
चस्मा जस्तै धूमिल मन पखाल्न खोज्दैछ
तर
आज उसको दृष्टि निकै कमजोर भैसकेको छ
दूर र दूरि ठम्याउन नसक्ने भैसकेको छ !

प्रतिक्रिया
Loading...