पुरानो इतिहास छ
मेरो घरको
हामी आफैंले मेहेनत गरेर बनाएको
मेरो पुर्ख्यौली घर

यो घरमा देखिन्छ
रगत लतपतिएका पटाङ्गिनीहरू
खिया लागेर भित्तामा झुण्ड्याइएका तरवारहरू
दराजका किताबहरूमा पढ्न पाइन्छ
काटिएका शीरहरूका कथा
गुमेका स्वजनहरूका गाथा
हरेक दलिनमा
हरेक खाँबा र धुरीमा छ
मेरै पुर्खाको पसिनाको गन्ध
मेरै पुर्खाको घाउको दाग

जुन घर बनाउन
कुनै भूमिका नहुनेहरू
त्यही घरको शान्ति खल्बल्याउन उद्यत छन्
ओट पसिरहन्छन् मेरो घरझगडामा
विभीषण जन्माएर रावण मराइरहेछन्
शिखण्डी उभ्याएर हस्तिनापुर हराइरहेछन्

आगो लागेको बेला
एकपटक पानी खन्याएको बदलामा
किन हरदम मेरै इनारमा
विष खन्याइरहेछन्
भोक लागेको बेला
एक छाक खुवाएको बदला
किन हरदम मेरै बालीमा
डढेलो सल्काइरहेछन्

मेरो घरको एउटा खाँबा ढल्दा
घर नलड्न हात दिएको बदलामा
भत्केको दलिन टाल्न
एकपटक साथ दिएको बदलामा
पटकपटक पानीको कुलो बन्द गरिरहेछन्
घरको चुलो बन्द गरिरहेछन्

कुन मुर्खले परिभाषित गर्‍यो इतिहासमा
‘साथी फेर्न सकिन्छ
छिमेकी फेर्न सकिन्न’
म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।

साभारः चराको गीत