
शङ्कर शर्मा (डुवर्स)
उत्कण्ठा, पीर, चिन्तैचिन्ता
मनभरि मनभरि लिएर
छलकपट र अभिमानको
जलप चढ़ाएर
करुण मुहारमा
कृत्रिम हाँसो झुण्डाई
आफ्नो बदलिँदो स्वरूप लिएर
शरद्को शीतल वातावरणमा
वैशाख जेष्ठको प्रचण्ड
सूर्यको ताप लिएर
बर्खायाममा पलाएका
नवपालुवाहरू सामु
हिउँदका उजाड़ता लिएर
खुल्ला नीलो आकाशलाई
कालो मैलो धूवाँले पोती
नवशिशुहरूको
नवविवाहित जोड़ीहरूको
बालक वृद्धहरूको
चितामा अग्नि झोसी
तिनीहरूको अस्तु
साथमा लिई
दसैं तिमी मेरो
घर दलानतिर नआऊ है !
यदि तिमी आउँछौ भने
मनभरि मनभरि
हर्ष उल्लास लिएर
खुल्ला नीला आकाशमा
गौंथलीहरू उड़ाएर
पाखा पखेराहरूमा
चाँप गुराँस फुलाएर
घर आँगनतिर
सयपत्री गोदावरी फुलाएर
सभ्यताको आड़मा
धारण गरेको
तिम्रो त्यो फुस्रो
आडम्बरलाई मिल्काएर
घर घरमा गुञ्जिरहेको
चित्कार रोदन क्रन्दन हटाई
तिमी आफ्नै स्वरूपमा
बिर्संदै गएको
रीतिथिति परम्परालाई
साथमा लिई
हिमालको शितलता लिएर
चन्द्रमाको मुस्कान लिएर
शिरमा ढाका टोपी
शरीरमा दौरा सुरुवाल पहिरेर
मादल बजाउँदै बजाउँदै
दसैँ तिमी मेरो
घर आँगनमा आउनु है !
पत्थरझोडा, डुवर्स



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ माघ २०८२, सोमबार 








