रवि सुवेदी

उमङ्गका रश्मिहरू फिँजाई
प्रसून चारैतिर जग्मगाई।
देखाउँदै सुन्दर भावभङ्गी
आइन् शरद् निर्मल रङ्गिचङ्गी।।१।।

माल्श्री बजे स्वागत गर्नलाई
यी प्रीतका सप्तक भर्नलाई।
चम्किन् उषा रङ्ग छरेर सारा
प्रदीप्त पार्दै क्षितिका किनारा।।२।।

ती धान्यबाला अझ जग्मगाई
झुले सबै स्वागतमा रमाई।
अबोध ती बालक झैं पवित्र
सफा भए व्योम नदी समुद्र।।३।।

उड्दैछ चङ्गा सपना सजाई
आकाश छुम्लासरि मुस्कुराई।
उमङ्गमा लत्पतिई जुनेली
खेल्छिन् सधैं यो मनमा तरेली।।४।।

गोदावरी मख्ख परी फुलेकी
शृङ्गार गर्दै सब गाउँ बेँसी।
सौन्दर्यले पूर्ण छ देश आज
आनन्दले व्याप्त छ यो समाज।।५।।

दशैं भरी आशिषको कमाई
तिहारको रिम्झिममा रमाई।
झुकाउँदै ती छठ तर्फ माथा
लेख्छिन् शरद् यी रमणीय गाथा।।६।।