साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कविताः वास्तविकता

सागर काफ्ले

एउटा पहाड छ
पहाडभरि रुखहरू छन्
पहाडको बीचमा केही घरहरू छन्
ती घरमा मान्छे बस्छन्
फेदमा एउटा समथर फाँट छ
फाँटभरि लहरै अन्न झुलेको छ
फाँटको छेउमा एउटा बगर छ
अनि बगरको बीचमा नदी छ
सबै ठीकठाक चलिरहेकै छ
मान्छे धेरै समझदार हुन्छ
दिमाग चलाउछ,जन्तुभन्दा चतुर हुन्छ
पहाडबाट काठ झारेर
बगरबाट बालुवा गिट्टी उठाएर
फाँटमा कथित विकास गराइदिन्छ
रुख काटेर पहाड नाङ्गो बनाइदिन्छ
बगर रित्याएर नदी बाङ्गो बगाइदिन्छ
सबै खन्याएर फाँटमा, बाँकी उदाङ्गो बनाइदिन्छ
जसरी आफै छुट्टिएका जोडीहरु
फेरि भेट्ने चाहना राख्दैनन्
तर छुटाइएका जोडीहरू
नसोचि/न भेटी शान्त रहन सक्दैनन्
त्यस्तै
पहाडलाई आफ्ना रुखहरूको याद आउँछ
नदीले हराएको बगरको नाममा आँशु बगाउँछ
दुवैको पीडा बादलले देख्छ
हैन, उसले देखेर त्यस्तो देख्न सक्दैन
छुटाइएका प्रेमीहरू मिलाउन
साथीहरूले त्याग गरेको जस्तै
उसले केही नगरी बस्न सक्दैन
गर्न सक्ने उपाय केही देख्दैन
अनि जोडजोडले रुन थालिदिन्छ
आँशु वर्षा बनेर झर्न लागिदिन्छ
र त्यो वर्षा
पहाडको चर्किएको घाउमा मल्हम जस्तै भरिन्छ
अनि नदीको आँशुमा थपिएर बगिदिन्छ
वर्षा मिलेपछि हिम्मत गरेर
आफ्ना रुखहरू भेट्न पहाड बेसी झर्न थाल्छ
हराएको बगरको स्मृति खोज्दै नदी उर्लन थाल्छ
साँचो मनले चाहेका सबै पुरा हुन्छन् रे
पहाडले, नदीले गुमाएका आफ्नाहरू
खोज्दैखोज्दै अन्ततः एकैसाथ आइपुग्छन्
दुवै मिल्छन्, पहिलेको फाँट, अहिलेको कङ्क्रिटको जङ्गलमा
आफ्ना रुखहरू सकिएको देखेर पहाड
पग्लिएर सकिन थाल्छ
आफ्नो बगरका अवशेषहरू उस्तै देखेर नदी उर्लिएर फुर्किन लाग्छ
रुख बदलिएर काठ भएजस्तै
पहाड पग्लिएर खोँच बनिदिन्छ
पहाडको त्याग थपिएपछि
फाँट बगरमा परिणत भइदिन्छ
अनि मान्छे?
मान्छे आफैँले गरेको गल्तीको लागि
आफैँले बनाएको भगवानलाई गाली गर्दै हुन्छ ।

गुल्मी

 

प्रतिक्रिया
Loading...