साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

अनामिका

कविता

Chovar Blues Mobile Size

कसरी सम्बोधन गरौँ खै
तिमी अपरिभाषित छौ
शब्दहरूको अर्थ भन्दा टाढा
अनमोल रत्न भन्दा बहुमूल्य
तिमीलाई वर्णन गर्नु
मेरो असफल प्रयास मात्र हुनेछ ।

तिमीलाई सम्झिरहँदा
म त्यो निःस्वार्थ बग्ने पानीको मूल सम्झिन्छु
जसले अर्बौं प्यासहरू नि:शुल्क मेटाउँछ
घामका किरणहरू सम्झिन्छु
जसले कठ्याङ्ग्रिएका आङ्हरूलाई
न्यानोपन बेहिसाब प्रवाह गर्छ
पवनका झोंकाहरू सम्झिन्छु
जसले अविरल निस्प्राणहरूमा प्राण भरिरहन्छ ।

तिमीलाई सम्झिरहँदा
म स्पर्शहीन स्पर्शहरूलाई सम्झिरहन्छु
जसरी एक झलक कल्पनाले
मुटुको ढोका ढक्ढक्याउछ
अनि मेरा बन्द ओठहरू
खुलिदिन्छन्

जसरी तिम्रो काल्पनिक श्रव्यदृश्य मानसपटलमा नाचिरहँदा
मेरा परेलाहरू झिम्किन बिर्सन्छन्

तिमीसँगको वार्तालापमा
पुलकित हुन्छन्
ओइलाउन लागेका रहरहरू

हृदयका स्पन्दनले मिठो रिदम बजाउँछ
उफ्री-उफ्री हलचल गर्छन्
रक्तनलीमा रगतका नर्तकीहरू

कालो अँध्यारो अदृश्य रातहरूमा
तिमी जुनकिरी जस्तै चम्किदै आउँछौं
प्रज्वलित गर्छौ
मेरो गुफा बसिरहेको चाहनालाई

म तिमीलाई अमूर्तमा भेट्छु
फूलमा होइन सुगन्धमा
जूनमा होइन शीतलतामा
आकाशमा होइन अनन्ततामा
रङ्गमा होइन बेरङ्गमा

म तिमीलाई बिछोड भित्रको मिलनमा भेटछु
जस्तो कि घाम र जून
अँध्यारो र उज्यालो
मृत्यु र जीवन

त्यसैले अनामिका
तिमी अपरिचित परिचित नै रहनु मेरो लागि
रहस्यभित्रको ब्रह्माण्ड नै रहनु
मेरो सोलमेट
आत्माले अङ्कमाल गरोस्
आत्माले चुम्बन गरोस्
आत्माले हातेमालो गरोस्
तर यसलाई आवरणमा कहिल्यै
प्रदर्शित हुन नदेऊ
किनभने आवरणको जीवन निश्चित हुन्छ
आत्मा अजम्वरी हुन्छ
न जन्मिन्छ न मर्छ ।

ऐ ! अनामिका
तिमी र मलाई
आत्मादेखि आत्मासम्म जोड्ने
एउटा औँठी चिनो लिएर जाऊँ
जसलाई तिम्रो अनामिका औँलामा लगाउनु
सुनेको छु
अनामिका औलाको स्न्यायुको तार
मुटुसम्म जोडिएको हुन्छ रे !

———————-
तानसेन, पाल्पा

प्रतिक्रिया
Loading...