साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दसैँ विशेष कविताः जून खसेको दिन

Chovar Blues Mobile Size
दीपक ज्ञवाली

दीपक ज्ञवाली

दिन भन्थे अरुहरू
रात भोगिरहेको थिएँ म
पोको परेर खसिरहेको थियो उज्यालो
अँध्याराको इनारमा
तैरिरहेका थिए सतहमा
इच्छा र अनुराग
निद्रा र सपना एकैसाथ ।

सयपत्री थिए फक्रेका
मखमली थिए फुलेका
मुर्झाइरहेथ्यो तर मनको फूल
घोचिरहेको थियो काँडाले
मनको गुलाफको
खसिरहेथ्यो आँखाबाट
टिल्पिल टिल्पिल
जून निरन्तर ।

राता अक्षता टाँसिरहेका थिए अरु सब
जमराको लहरमा हाँसिरहेका थिए अरु सब
भत्किएपछि संवेदनाको बाँध
रुझिरहेको थिएँ आँसुको नदीले
झरिरहेथ्यो आँखाबाट
रिडी खोला दुइटा ।

आमाको आँखाको के कुरा ?
पाट्टिएका थिए शायद पर्खाइमा
बाबाको आशाको के कुरा ?
पहेंलिएका थिए जमराजस्तै

sagarmani mobile size

फर्किएर मूलबाटोतिर
बाआमाको आँखामा बलिरहेथ्यो
प्रेमको दीपक ।

थिइनँ तर म
आमाको काखमा
न थिएँ बाबाको काँधमा
हारिरहेको थिएँ
एउटा जब्बर जीवन
विजयादशमी दिन ।
……
रचना गर्भः २०५८ असोजको पहिलो बुधबार । रेडियो लुम्बिनीमा, त्यो बेलाको असाध्यै रुचाइएको र देशभर श्रोता सर्भेक्षणका आधारमा उत्कृष्ट पुरस्कार पाएको कार्यक्रम मुटुको व्यथामा दसैँ विशेष गीतिकथा प्रस्तुत गरेँ । स्टुडियोबाट झेरेँ । बाइक स्टार्ट गरेर क्रमशः अघि बढ्दै थिएँ । उन्मत्त बाच्छाको बलात्कारबाट जोगिनबाट भागेजस्तै दौडिएकी यौटा बाच्छी बाइकमा झड्याम्म ठोक्किई । म ढलेँ । घाइते भएँ । दसैँ मान्न घर जाने तयारीमा रहेको म, अस्पतालमा पुगेँ । त्यो वर्षको दसैँ आँसुमा डुब्यो ।
समर्पणः दसैँमा घर जान हिँडेका तर दुर्घटनामा परेर बाटोमै रोकिएकाहरुप्रति ।
प्रकाशोन्मुक कविता संग्रह ‘ह्याकर’ बाट ।

प्रतिक्रिया
Loading...