साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

 कविता – प्यारो दार्जीलिङ

 

तिलक शर्मा

दार्जीलिङ  साह्रै रमाइलो छ

गोर्खाभूमि मलाई प्यारो छ,

किनकि यहाँ मेरा बाजेले सुगन्धित फूल 

लगाउनु भएको थियो,

आज केही  बासाइरहेका छन् भने 

केही ओइलाइरहेछन् 

बाजेले भिरालो कोठे बारीमा चियाको बुट्टाले

हरियाली भर्नुभएको थियो

मानेडाडाबाट देखिने भन्ज्याङ अनि आकाशै 

छुने हिउँ चुचुरो….. देखि–

खस्रेताका पात 

चट्ट चौँरीगाईले फुर्के पुच्छर हल्लाउँदै खाएको-

त्यो बाक्लो ओलन अनि ..छुर्पी चबाएको

टेनजिङ्गले सगर चुमेको,

मेरा बाजेको पौरख अहिले पनि टलक्क टल्किरहेको छ,

मेरो माटाको बास्ना अइले हराएको छैन

हतास र आतेसले पनि मेरो घ्राण शक्तिलाई

नाश गर्न सकेको छैन ।

मेरी आमाका शिरमा नाम्लोले खोपिल्टयाएको

सम्बन्धित पोस्टहरु

दागहरू,

डोकोले थिचिएर लाम भई बसेका

छिया-छिया पारेकाे पिठ्युँ ।

एकातिर दाउराको भारी अर्कातिर म

एकातिर घाँसको भारी अर्कातिर तिमी

एकातिर चियाका बुट्टा अर्कातिर हामी

मेरो भक्कानिएको मनले भन्छ 

मलाई मै भएर बाँच्न मन छ

मलाई आमाको अनुहार यो माटामा 

हेर्न मन छ

ट्वाय ट्रेनमा चढी बतासिया लुपको सौन्दर्य हेर्न मन छ

टाइगरहिल्समा उभिएर सगरमाथा छुन पुग्छ यो मन 

पिस पगेडाबाट विश्वलाई शान्तिको वार्ता दिन

चाहन्छु म 

दुरपिन डाडाको चुचुरोमा उत्तानु भै आफ्नो छाती आकाशमा 

टस्साएर निरढुक्कको लामो सास फेर्नु छ।

पितापुर्खाको घर आफ्नो अस्मिताको घर

नव पिँढीको घर जहाँ तिमी म हामी 

चौतारामा बसिबियाँलो गरेकाे घर

प्यारो यो गोर्खा भूमि

मलाई प्यारो छ मलाई प्यारो छ।

प्रतिक्रिया
Loading...