धनक बहादुर थापा (युएई)

म नदी बनेर बहँदै थिएँ
ऊ पहाड बनेर ठिङ्ग उभियो,
भन्छ, तैँले दौडिएर सागर छुनु हुँदैन
म हावा बनेर फैलँदै थिएँ
ऊ सिमाना हाल्दै सामुन्ने आयो
भन्छ, तैँले आकाश हुनु हुँदैन

नदीले धर्तीलाई हरियाली बनाई
अन्तिमपटक सागर चुम्नु
धर्तीमा अनेक जातका फूलहरू फुलाउनु
के पाप हो ?
ऊ मलाई सधैँ खुम्चिरहनू भन्छ
उचाइ भरेर कहिल्यै नचुलिनू भन्छ
रातहरूमा तारा नचम्काउनू भन्छ
दुई आँखामा चन्द्रसूर्य नउदाउनू भन्छ
के आकाशले झुकेर धरालाई आलिङ्गन बाँध्नु पाप हो?
संरक्षण गर्नु अधर्म हो ?

अरूलाई सिमाना बताउने
खुम्चिएर ताल बन्नू भन्छ
कुवा हुनू भन्दै बडो धाप मार्छ
आफ्नै घरमा गहिरो खाडल खन्नू भन्छ
तिमी नै भनिदेऊ
कथित पर्खाल
अब मैले तिमीलाई नाघ्न
हुरी बनेर आउनुपर्छ कि पर्दैन ?
सागर भेट्टाउन
तिमीभित्र अदृश्य सुरुङ
छेड्नुपर्छ कि  पर्दैन पर्खाल ?