साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- पुराना मानिसहरू

Chovar Blues Mobile Size
खुपेन सुनुवार

उहिले उहिलेका मानिसहरू
खेतमा पसिना उमार्थे, पेटमा हाँसो भर्थे

एकै छाकमा जेठा माइँला साइँला काइँला ठाइँला
देखि अन्तरे जन्तरे खन्तरे लखन्तरेसम्म भान्सामा अट्थे

आजकाल त न खेतमा पसिना उमर्छ न पेटलाई आराम
समुन्द्र पार पुगेका छन् है ! खोला भएर बगिगएका दाजुभाइहरू

उहिले उहिलेका मानिसहरू
नदी, खोला, झरना, इनार, ढुङ्गेधारातिर गर्थे देह स्नान
र वरपिपलछेउ सारा दुःख बिसाएर भाका हाल्थे हावा सँगसँगै

अचेलका मानिसहरू त तातो बाथ लिन्छन बाथटबमा
र चिसो हिउँ भएका छन् मसिनको चिसो धुवाँले मुटु छेडेपछि ।

sagarmani mobile size

उहिले उहिलेका मानिसहरू
जहाँकहीँ जम्काभेट हुँदा एक अर्कालाई ढोग्थे
हालखबर सोध्थे, दुखपिर साट्थे अनी ढोगेरै बिदा हुन्थे

अहिले काँहा उहिलेको जस्तो बाटो साँघुरो छ र ?
आआफ्नै अभ्यस्त राजमार्गमा  हुँदैन कतै कोही कसैसँग भेट
अप्रत्याशित भइहाले कट्केर आँखाले बोल्छन् र ओठले हेर्छेन् ।

उहिले उहिलेका मानिसहरू
आफ्ना प्रेयसीलाई खुनले खिपेर प्रेमपत्र लेख्थे
साँच्चै उहिले उहिलेका मायाँपिरतीहरू स्निग्ध कविता हुन्थे

आजकाल रातमा मानिसहरूको हात हातमा मोबाइल हुन्छ
तर पारिजातको प्रेम कविता र उपन्यास भने धुलो दराजभित्र ।

उहिले उहिलेका मानिसहरू
साना छँदा चराहरूसँग बात गर्थे
माटो, पानी, बतास, हिमाल, घाम, जुन र तारहरूसँग खेल्थे

तर अहिलेका बच्चाहरू भुईँ नछोई आकाशमा उडछन्
बन्दुक,गोली र ग्रिनेडहरू उनीहरूका खैलौना बनेका छन्

पुरानो रेडियो र पुरानो सम्चार
पुरानो भित्तेपात्रो र पुरानो भित्तेघडी
पुरानो खेत खलियान र पुरानो जरुवा धारो
पुरानो खरको छानो र पुरानो माटाको गाग्रो

सबै-सबै खुइँलिदै खिइँदै पत्तै नपाई खाक भएछन् कसरी ?
कठै ! नयाँ युगको आँगनमा पुराना मानिसहरू कत्तै भेटिएनन् ।।

– खुपेन बेलायतबाट

प्रतिक्रिया
Loading...