
भानसिंह धामी

भानसिंह धामी
हाँस्छन् लौन खसी र हाँस कुखुरा, राँगाहरू के गरी ?
रुन्छन् मौन बसी छ अन्तिम घडी, आँखाहरू धर्धरी
कुर्बानी छ त मृत्युु उत्सव बली, भोकाहरूको दशैँ
धोका हो ! दुनियाँ दुखान्त अति भो, बोकाहरूको दशैँ।
।१।
गोली थाप्न तयार छन् जब सबै, यी पात पोथ्राहरू
पैरन्छन् कति कान कान जमरा, योगी र योद्धाहरू
मेलापात र घाँस खोज्छ हँसिया, डाेकाहरूको दशैँ
धोका हो ! दुनियाँ दुखान्त अति भो, बोकाहरूको दशैँ।
।२।
घोडामा तरवार भिर्छ जसले, मैदानमा ढल्दछ
आत्मा देख्छ अनेक एक खुकुरी, संहारमा चल्दछ
निस्सासिन्छ सदैव झ्याल नहुँदा, ढाेकाहरूको दशैँ
धोका हो ! दुनियाँ दुखान्त अति भो, बोकाहरूको दशैँ।
।३।
निर्धा मानव झैँ जनावर कयौं, मारेर खानेहरू
कालो संस्कृतिमा रमाउन पुगे, पाताल जानेहरू
के को सुन्दर हुन्छ ज्यान जिउका, फोकाहरूको दशैँ
धोका हो ! दुनियाँ दुखान्त अति भो, बोकाहरूको दशैँ।
।४।
माछाको अब छैन ज्यान जलमा, दौडन्छ होला शव
आफैं भक्षक मृत्युुको भय हुँदा, आक्रान्त होला तब
थाकी जीवन गल्छ ढल्छ भुइँमा, पोकाहरूको दशैँ
धोका हो ! दुनियाँ दुखान्त अति भो, बोकाहरूको दशैँ।
।५।
सिगास -२, बैतडी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

