आहुति

 

काठमाडौँ
हातमा ज्यावल या कहिले हतियार
सम्झेर
सुरक्षित
निर्भय
मस्त निदाएँ युगौँयुग
तड्पेर ब्युँझँदा
ममाथि शोषण गरिरहेका थिए
हातमा किताब बोकेका मानिसहरू ।

हतार-हतार
मैले पनि उठाएँ कलम
लेख्न थालेँ
बोक्न सिकेँ अँगालोभरि–भरि किताबहरू ।

हातमा कलम या कहिले किताब
ठानेर सुरक्षित
निश्चिन्त
फेरि निदाएँ वर्षौंवर्ष
झस्केर उठ्दा
ममाथि शासन गरिरहेका थिए
हातमा हतियार बोकेका मानिसहरू ।

कहिले हुन्छ मेरो मुक्ति ?
कहिले हुन्छु म स्वतन्त्र ?
ज्यावल र हतियार बोक्छु
म शोषित नै भइरहेको हुन्छु
फेरि कलम र किताब बोक्छु
म शासित नै भइरहेको हुन्छु ।

अबदेखि,
श्वास अक्षरहरूको लिन्छु
प्रश्वासमा फाल्न सिक्नेछु बारुद
कलमले संवाद गर्छु
प्रतिवादमा तयार राख्नेछु हतियार
किताब र हतियार बोकेर एकसाथ
म कहिल्यै निश्चिन्त रहने छैन
मस्त निदाउने छैन एकपल
कलम भिर्दा भुल्ने छैन हतियार
हतियार बोक्दा बिर्सने छैन कलम ।

सम्भवतः
अब भने रोचक हुनेछ
यो ऐतिहासिक महासङ्ग्रामको
फाइनल म्याच ।