अन्तरङ्ग शब्द तरङ्ग अन्तर्मनको रङ्गमञ्चमा तरङ्गित भावहरूलाई शब्दमा व्यक्त गर्न गरिएको कोसिस हो ।
अन्तर्यात्राका क्रममा बिस्तारैबिस्तारै मेरो अनुभूतिमा उद्घाटित हुँदै आएका भावहरूलाई मैले शब्दका वस्त्र ओढाइदिएको मात्र हुँ—यो थाहा हुँदाहुँदै कि शब्द पर्याप्त छैनन् ।
यी शब्द तरङ्गहरू विशेषतः आध्यात्मिक चेतले घनीभूत छन् । कतिपय शब्दहरू मेरा अध्ययन, अनुसन्धान तथा बुझाइबाट प्रेरित छन् भने कति शब्दहरू साधनाका क्षणमा म विलीन भएको अवस्थामा प्रकट भएका छन् ।
कति शब्दहरू सपनाको गहिराइमा देखिएका हुन् भने कति मृत्युको निकट पुगेर अनुभव गरिएका हुन् ।
कति क्षणहरूमा त म बस् माध्यम मात्र बनेको छु ।
समग्रमा भन्नुपर्दा यी शब्दहरू मेरा अन्तर्भाव मिश्रित, अनुभवाश्रित अन्तरङ्ग तरङ्गहरू हुन् ।
एउटा प्रबल अन्तर्आवाजको आग्रह स्वरूप यी शब्दाश्रित अन्तर्भावहरू समष्टिप्रति समर्पण गर्न म लालायित भएको हुँ ।
ताकि शब्दहरूले पाठकलाई शब्दातीतको आभास दिन सकून्।
आध्यात्मिक एवम् स्वयंको रूपान्तरणको प्रक्रियामा म जुन अनुभूतिको चरणहरूबाट गुज्रिएँ; त्यही थोरै यी शब्दहरूमा प्रकट भएको पनि हो ।
जीवनानुभव गर्न जीवनलाई जीवनको समग्रतामा स्वीकार्नु अपरिहार्य छ ।
यी शब्द तरङ्गहरू यो जीवनयात्रामा यात्रारत तमाम प्रिय आत्मयात्रीहरूको यात्रामा थोरै भएपनि सहयोगी सिद्ध भए भने म कृतकृत्य हुनेछु ।
विजय स्वरूपाय
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।