
मौन आवाज
बस्तीमा एकाबिहानै हल्ला भयो –
ईश्वरको कुरूप लास शौचालयमा भेटियो रे !
कसैले भन्यो –
कारागारबाट फरार कैदीले
ठिक निधारमै ताकेर गोली हानेको हो !
कसैले भन्यो –
गजेडी युवकले ढुङ्गैढुङ्गाले हिर्काएर ईश्वरलाई माऱ्यो !
कसैले भन्यो –
बलात्कृत युवतीले आफ्नै सुरुवालको इँजार फुकालेर
ईश्वरको घाँटी थिचिन् !
कसैले भन्यो –
गोठालो गइरहेको अबोध बालकले
खाजा खान नपाएको रिसले ईश्वरलाई माऱ्यौ !
कसैले भन्यो –
लेनदेन नमिलेपछि वेश्याले ईश्वरको लिङ्ग काटेर
रामनाम सत्य पारी !
कसैले भन्यो –
आजन्म मन्दिर कुर्दाकुर्दै थाकेको भक्तले
ईश्वरको सफाया गऱ्यो !
कसैले भन्यो –
ईश्वरसँग नास्तिक कविको दुश्मनी थियो
र / कविले ईश्वरलाई किचिमिची पाऱ्यो !
कसैले भन्यो –
ईश्वरको भरियासँग बाटोमा भनाभन भएको थियो
र / भरियाले ईश्वरलाई भिरबाट खसाल्यो !
कसैले भन्यो –
व्यापारीसँग ईश्वरको साँठगाँठ थियो
र / व्यापारीले कन्ट्याक्ट किलरमार्फत
ईश्वरको अन्त्य गऱ्यो !
कसैले भन्यो –
ईश्वर प्रतिपक्षीसँग मिलेर कुनै गुप्त योजना बनाउँदै थियो
र / सत्तापक्षले ईश्वरलाई नष्ट गऱ्यो !
कसैले भन्यो –
ईश्वरलाई आतङ्ककारीहरुले एम्बुसमा पारे
कसैले भन्यो –
ईश्वर पक्षधरताको वकालत गर्थ्यो
त्यसैले कुनै उत्पीडित समुदायले ईश्वरलाई समाप्त पाऱ्यो !
कसैले दलितद्वारा ईश्वर मारियो भन्यो
कसैले ब्राह्मणद्वारा नै ईश्वर खत्तम पारियो भन्यो
कसैले के भन्यो / कसैले के भन्यो !
कसैले भन्यो –
ईश्वर रक्सीले मातेर आएको थियो
र / पिसाब फेर्दाफेर्दै आफैँ ढल्यो !
कसैले भन्यो –
ईश्वर बिरामी थियो !
कसैले भन्यो –
ईश्वर पागल थियो !
कसैले भन्यो –
ईश्वर कामुक थियो !
कसैले भन्यो –
ईश्वर पतित थियो र / विधवा आइमाईले कोठामा थुनेर
ईश्वरको हत्या गरेको हो !
अकस्मात् –
कोही भिडमा देखियो
र / भन्यो –
ईश्वर मरेको होइन भुस्याहा कुकुर मरेको हो !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

