नीलिमा आचार्य (असम)

थाहा पाएँ मैले

उनले मलाई मायाँ गर्नुको उद्देश्य मात्रै !

मात्रै मेरो रस पान गर्नका निम्ति

मेरो हेरचाह गरेका रहेछन्

किशोरावस्थामा मेरो धेरै ख्याल राखे

उनले लड्न नदिई मलाई हुर्काए

घामपानीमा मरि पो हाल्छु कि भनेर

यत्न गरे मायाँले सुमसुमाए

उपयुक्त परिवेश दिए म पनि

उनको स्याहारसुसारमा बढ्दै गएँ

हुर्किँदै गएँ

किशोरावस्थालाई चिर्दै

एकदिन म पूर्ण यौवना भएँ

यी अहिले हेर यौवन आइसक्दा

मेरो शरीरलाई चुसेर

मेरा खोसेल्टाहरू फ्याँकिदिए

मेरो रसपान गरी

मलाई खोक्रो बनाए

मेरो शरीरमा अत्याचार गरी

मलाई मसिनजसरी पेले

अनि मेरो शरीरको एक-एक अङ्गलाई

चिमोट्नु चिमोटे

चिथरे नङ्ग्राले लुछे

मलाई दुखाएर खुसी हुने

कस्तो महान् तिमी ?

मेरो रस पिएर डम्म अघाएर

बसेका छौ ठुलो भुँडी सुमसुम्याउँदै

डकार्छौ अहिले कति दिनसम्म हो

तिम्रो यो अहङ्कार ?

मलाई चिनिराख म उखु हुँ

एउटा तृण जसले त्रिभुवनको तृष्णा मेटाउँछ

वाणिज्यिक मूल्य पनि उत्तिकै पाउँछ

जसको अङ्ग-अङ्गमा सृष्टिको स्रोत छ

हे दमाहा !

म फेरि उम्रने छु

शोषणको विरुद्ध आवाज उठाउन

जरुर आउनेछु

बाटो हेरिरहनू मेरो

म उखु बोल्दै छु ।