कवि परिचय

केशवमान शाक्य (ई. १९५१) बौद्धिक, राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् । उनका कविता र कथाहरूमा त्यसको स्पष्ट झलक पाउनसकिन्छ । नेपालभाषामा उनका दुई कविता सङ्ग्रह र एक कथा सङ्ग्रह प्रकाशित छन् । उनले ओसामु दाजाइको जापानी उपन्यास (द सेटिंग सन) को नेपालभाषामा अनुवाद (बीनिभाः) पनि गरेका छन् । सो अनुवादको लागि उनलाई ने. सं. १०९८ को ‘श्रेष्ठ सिरपाः’ पुरस्कार प्रदान गरिएको थियो ।

सं. रा. अमेरिकाका विश्वविद्यालयबाट एम. एस्सी. र विद्यावारिधी (अर्थशास्त्र) गरेका शाक्य एकताका विज्ञान, प्रविधि तथा वातावरण मन्त्री पनि भएका थिए । उनी बौद्ध संस्थाहरू र जनजाति अधिकार आन्दोलनमा सक्रिय व्यक्तित्व हुन् ।

यो कवितांश ‘स्वापू’ (सम्बन्ध) कविता कृतिबाट लिइएको हो । ‘स्वापू’ विभिन्न परिच्छेदमा विभाजित एउटा सिंगो लामो कविताको कृति हो । प्रस्तुत कवितांश सो कृतिको पहिलो परिच्छेद हो ।

अनुवादकः आर. मानन्धर

सम्बन्ध

केशवमान शाक्य

सँगै बसेका थियौं दुवै जीवनको हरियो घाँसमा
हाँस्दै हाँस्दै नै चालेका थियौं पाइला
शीतल हिमालको आरोहणमा
थकित यात्रा टुँगिँदा बल्ल थाहा पाइयो
टाढाबाट देखिएको शीतल पर्वत त
हुरहुरी ज्वाला ओकलिरहेको आगोको विशाल थुप्रो रहेछ
त्यो त भतभती पोल्ने आगो बगिरहेको पो रहेछ !

यो यात्रा हामी दुवैको चाहना अनुरूप नै भएको थियो,
तर त्यो आगोको लप्काले अनायास अत्याउँदा
दुवै अतासिँदै भागेका थियौं,
म एक्लै हतारिँदै फाल हाल्दै भाग्यो भनेर
रिसाएकी थियौ तिमी
मेरो रफ्तारमा हिँडेनौ भनेर दिक्क मानेको थिएँ मैले ।

हो, मैले आफू मात्र बाँच्न स्वार्थ हेरेँ
आगो बगिरहेको पहाडमा तिमीलाई पछाडि छोडेर
भागेको थिएँ म,
हो, त्यसबेला तिम्रो पाइलाले गति नलिएकोले
आगोले छोप्ने डरले
तिमी खाल्टामा जाकिए पनि
आफू त बाँच्नै पर्छ भन्ने मनमा लागेको थियो,
आगोको उँचाइ नाघ्दै नाघ्दै
म फेरि जीवनको बेंसीमा आइपुगेको थिएँ,
जीवनको बेंसीमा पुगी पर्खिरहेको थिएँ तिमीलाई,
म पहाडबाट ढुङ्गासरि झरेको थिएँ,
तिमी खोलाको पानीझैं बगेकी थियौ ।

बेंसीमा पुगेर म ढुङ्गो त्यहीं अड्किएँ
तिमी नदीको पानी बेंसीबाट पनि अझै अघि बढ्यौ,
जीवनको पर्वतारोहणमा भेटेको आगोको मुस्लोले,
म तात्तिएको ढुंगो भएदिएछु
तिमी बगेको नदी भइदियौ ।

मूल नेपालभाषामा