प्रह्लाद ढकाल

अब दिन आयोे
रातो अक्षता र पहेँलो जमराको
मेरी आमैको जिम्मेवारी बन्ने
मेरी आमैले बत्तिस मुजासहितको
आफ्नो मुहार हँसिलो पारेर
उनका सृजनाहरूलाई गुथी-गुथीकन
आशीर्वचन भन्ने –
“सफलताले पाइला चुमोस् मेरो बाबुको
हरि दाहिना होऊन् सधैँ तिम्रा
कसैका अगाडि हात थाप्नु नपरोस् तिमीले
धन–धान्य फलिफाप होस्
तिमीले चिताएको पुगोस्
मेरो बाबु ठूलो मान्छे भाको हेर्न पाऊँ ।”

कठै मेरी आमै !
तिमीलाई के थाहा
मैले तिम्रा आर्शीर्वादहरू
सार्थक बनाउनुपर्ने सपनाहरू
बोकी, बोकी यसपालि सहरमा
तिम्रा खेतीको कमाइका तलुवाहरू
खियाई–खियाई अब त
तिम्रो बाबु पनि खिइसक्यो
कलि युगका देवगणलाई
गुहार्दागुहार्दै निराश भैसक्यो

आमै,
यसपालि त
माटोको टीका लगाएर नेपालको
जमरा लगाइदेऊ अमरसिंहको पालाको
हातमा दिँदै अष्टमीको खुँडा
हाँसेर हैन रुँदै भन
“बाबु रक्षा गर मेरो
मेरो सन्तान होस् भने
नष्ट पारिदे यी असुरगण
छिटो गर् बाबु अबेर नगर्
तेरी आमैको अस्मिता सङ्कटमा छ ।”