असल चरित्र

के हजुरलाई

थाहा थियो सरकार
हजुर कहिले जन्मनुहुन्थ्यो भनेर
आमाको राष्ट्रिय प्रेग्नेन्ट पेटभित्र
भ्रूण रहँदा
कति लात मार्नुभो
आमाको दुई जिउमा
बेस्सरी हजुरको लातको पीडा
थोरै महसुस हुन्छ कि सरकार ?
राखेर कलेजो नजिक दिनानुदिन
अड्याउँदै धड्कनमा हजुरकै श्वास
खेलाएर आन्द्रासँग नौ महिना
बगाउँदै रगतसँग आफ्नो शरीरको
पीडामा आकाश हेरेर
बगाउँदै समुद्रको एक आमाशयबाट
उतार्नुभयो
धूमिल धर्तीको खैरो किनारामा
ती आमाको कलेजोनजिक
डेरा बसेको नौ महिनाको भाडा
आमाको केही सपनाहरूको सानो संसारको अपेक्षा
संसार देखाउन, संसार चिनाउन र संसार निर्माण गर्न
आमाले गर्नुभएको रगतको खर्च
ऋण हो कि फजुल हो सरकार ?
अब त हजुर ठूलो हुनुभो
र बन्नुभो विगतभन्दा बडा र मान्य
पढ्नुभा’छ राष्ट्रनिर्माणका ठेलीका ठेली पुस्तकहरू,
निकाल्नुभा’छ नयाँ राष्ट्रिय स्वरूपका स्ट्रिमेटहरू
र बस्दै हुनुहुन्छ आगतमा सत्ताको थ्रोनमा
हजुरको बोलीमै मुहुनी, हजुरको भाषणमै मुहुनी
मधेसमा-अगणितीय मधेसी एजेन्डाहरू
तराईमा थारुहटको एजेन्डाहरू
मुसहर बस्तीमा मुसहरको एजेन्डाहरू
हिमाल-पहाडतिर आदिवासीका एजेन्डाहरू
भएन चेपाङ बस्तीमा,चेपाङहरूकै एजेन्डा
कसरी सम्झनुहुन्छ यति धेरै एजेन्डाहरू
सम्बोधन गर्दैगर्दा यी एजेन्डाहरू
आमाको पनि कुनै एजेन्डा थियो कि भन्ने
सम्झना हुन्छ कि हुँदैन सरकार ?

यता वर्ग र जातीयताका एजेन्डाहरू
उता पहिचान र सङ्घीयताका एजेन्डाहरू
हातमा धर्म निरपेक्षता र संस्कृतिका एजेन्डाहरू
टाउकामा राष्ट्रियताको एजेन्डाहरू
छातीमा देश मानचित्रका एजेन्डाहरू
घाँटीमा समृद्ध सुखी नेपालका एजेन्डाहरू
पेटमा भ्रष्टाचार अन्त्यका एजेन्डाहरू
नपुगेर खुट्टामा, बेरोजगारका एजेन्डाहरू
आदि आदि यी एजेन्डाहरूमा क्रमशः
कैले पूर्णविराम लाग्छ सरकार ?

सरकार
हजुर मोड्नुहुन्छ स्टेरिङ राष्ट्रको
जुन राष्ट्रको नेपाल बसमा
कहीँ कतै सुरक्षित छैनन् आरक्षण सिटहरू
कैले दस, कैले बाह्र र कैले पन्ध्र
यस्तो उमेरमै निमोठिइन्छन् कोपिला बैनीहरू
कैले निर्मला, कैले सर्मिला त कैले बिमला
अनि जताततै भेटिइन्छन् कलिला लासहरू
कुनै नालीमा, कुनै गोठमा र  कुनै उखुघारीमा
हुँदा-हुँदा अब त सुरक्षित छैनन्
कुनै दुधे नानी र आमाहरू पनि
पिपासुहरूलाइ राज्यले घाँटी रेट्ने दण्ड कैले बनाउँछ
हजुरको प्रशासनले
अपराधीको खोज कि बचाउ गर्छ
हजुरको अदालतमा
पीडितलाई न्याय छ कि छैन सरकार ?

एकचोटि भनिदिनुस् सरकार
के ती कोपिला बैनीहरूलाई
तिर्नु थिएन आमाको गर्भको भाडा
चुकाउनु थिएन आमाको रगतको मूल्य
अरू त तपसिल
हजुर खेल्नुहुन्छ राजनीति
पल्टाउनुहुन्छ तासको पत्ताझैँ सत्ता
पलट मारेर निस्कनुहुन्छ बादशाह
र पहिरनुहुन्छ ताज सरकारको
अब,
हजुरबाट मुख्य एउटै प्रश्नको उत्तर चाहन्छु
सत्ता गर्भवती हुन्छ कि सरकार ।।

-साझा बस्ती, खोटाङ