को हो त्यो
जो युगौँदेखि बनाइरहेछ तिमीलाई बन्धक
को हो त्यो
जो बाँधिरहेछ युगौँदेखि तिम्रा पाउहरूमा जन्जीर
को हो त्यो
जो कैँची बोकेर युगौँदेखि चुपचाप काटिरहेछ तिम्रा पंखहरू
र, रोकिरहेछ तिम्रा उडानहरू ।

को हो त्यो
जो युगौँदेखि पछयाइरहेछ चुपचाप तिम्रा पदचापहरुलाई
शान्त शान्त त्यो तलाउमा आएका तरङ्गहरूसँग
शून्यताले छाएको त्यो गोरेटोमा
सूचनाबिना नै चलेका आँधीहरूसँग
सुसाएका सल्लाघारीका सालहरू झैँ
को हो त्यो
जो तिम्रो धैर्यताका बाँधहरुलाई
युगौँदेखि रोकिरहेछ सुनामी बनेर बग्नलाई

को हो त्यो
जो चिहाइरहकोेछ युगौँदेखि
चुपचाप त्यो आँखीझ्यालबाट
तिम्रा ती पाइलाहरूको डोबलाई घेराबन्दीमा पारेर ।

को हो त्यो
जो तिम्रा मनले चाहेका तस्बिरहरूमा
तिमीलाई मन पर्ने रङहरू भर्दा
तिमीसँग चित्त दुखाउँछ ।

को हो त्यो
जो तिमीले गाउने विद्रोहका गीतहरूसँग
धोत्रिएको तिम्रो स्वरमा केवल कोमलतामात्र खोज्छ ।

को हो त्यो
जो युगौँदेखि दवाउन चाहन्छ
तिम्रा विद्रोहका आवाजहरूलाई
को हो त्यो
जो युगौँदेखि देख्न चाहन्छ
केवल लज्जावति झारझँै लजाएका तिम्रा मुहारहरू ।

को हो त्यो
जो युगौँदेखि प्रश्न गरिरहेछ तिम्रो अस्तित्वमाथि
को हो त्यो
जो युगौँदेखि उपहास गर्दै
हाँसिरहेछ चाणक्यको झैँ एउटा कुटिल हाँसो ।

को हो त्यो
जो युगौँदेखि तिम्रै रगतका धाराहरू पिएर
बनाइरहेछ तिम्रै रगतका धाराहरूलाई अशुद्ध ।

को हो त्यो
जो युगौँदेखि खिच्दैछ
मर्यादाको एउटा लक्षमण रेखा र
रोकिरहेछ तिम्रा पाइलाहरूलाई ।