इतिहासको कालखण्डमा
२१ औं शताब्दीको पूर्वार्द्धमा
शान्ति र समानताको बीचबाट
समृद्धिको दिशामा अग्रसर,
हाम्रो बस्ती
गौरवपूर्ण अतीत, आशातित वर्तमान
सूर्यका प्रकाशहरुमा लालीमय किरण
रात दिन उज्यालै उज्यालो

वातावरण प्रज्ज्वलित थियो
चारैतिर रौनकता छाएको थियो
केटाकेटी, युवा युवती उफ्री रहेथे
बूढाबूढी त्यसै त्यसै टोलाएका थिए
सब रमाएका थिए
तर एक्कासि चिच्चाहाट र कोलाहल सुनिन्छ
चारैतिर सन्नाटा पो छाएछ
दिउसै रात परेछ
हाम्रो बस्तिको शान्ति त्यसै त्यसै हराएछ

त्यसैले त होला टाढा टाढाबाट चिहाइरहेछन्
कुना कन्दराबाट चिच्याइरहेछन्
उम्मिद छ, आशा छ, भरोसा छ
आग्रह पूर्वाग्रहबाट माथि उठेर
फेरि अघि बढ्नु छ
शान्तिलाई पनि त खोज्नु छ

भर्खरै सुनेको कुरा हो
पारिपट्टिको बस्तिमा घाम लाग्यो रे
हाम्रो बस्तिमा पनि घाम लाग्नै पर्ने हो
सूर्यको प्रकाशले अन्धकारलाई चिर्नै पर्ने हो
जब ग्रहण फाट्ने छ -घाम लाग्ने छ,
तब शान्ति भेटिनेछ अनि रात दिन उज्यालै उज्यालो
चारैतिर रौनकता छाउनेछ
सब रमाउने छन्,
हाम्रै बस्तीको गीत गाउने छन् ।

वीरेन्द्रनगर, सुर्खेत