मिलन बोह‍ोरा (असम)

मनको

कान थापेर

सुनेँ मैले कुराकानी

अणु र सागरको कुरा

झिर्काले बल्द‍ो आगालाई

प्रत्याह्वान गरेको गम्भीर कुरा

कुरा थियो अणुको स्वाभिमानको,

सागरको खोक्रो अभिमानको

अणु गम्भीर थियो

सागर विचलित

अणु एकोहोरो

भन्दै थियो-

“तिम्रो अङ्गको हरेक थोपामा

मेरो अस्तित्व विद्यमान छ

म सूक्ष्म भएको अर्थ

धेरै नै विशाल छ

तिमी विशाल

भएको अर्थ

निरर्थ छ

मेरो अनुपस्थितिमा तिमी

एउटा मृत गवार हौ,

मविना तिमी

लास हौ

तर तिमीविना पनि म प्राण हुँ

तिमी सीमित छौ, म असीमित

तिमी अँध्यारो खाल्डामा छौ,

म पातमा फूलमा व्याप्त छु,

जिउँदो आँखाको नानीमा छु,

हावामा छु,

बादलमा छु,

जताततै छु

म तिमीमा समाहित भए पनि

मेरो अस्तित्व अक्षुण्ण छ

तिमी स्थिर छौ,

म उन्मुक्त छु

उड्न सक्छु बादलसँग,

डुल्न सक्छु कुहिरोसँग,

शीतल हुन सक्छु हिमाद्रिसँग

तिम्रा ज्वारभाटाका छाल उछालहरू

तिम्रा अहङ्कारका प्रतिक मात्र हुन्

सागर नतमस्तक थियो,

अणुको कुरा सुनेर

उसको दर्पचूर्ण भएको थियो ।।