कविता : मेरा बा

रचना अधिकारी (युएई)

मेरा बा !
स्वाभिमानको चुचुरोबाट
कहिल्यै ओर्लिनु भएन
बरु जीवनका कठिन
चुनौतीहरु
दृढता पूर्वक सामना गर्दै
भिमकाय
थुम्काहरु उक्लिनु भयो
बा’को आदर्श भित्र
पूरा भूगोल पनि साँघुरो हुन्छ।

बा’लाई पीडाले कहिल्यै छाडेन
चुपचाप पीडा सहनु भयो
धेरै चोटि जिन्दगी हार्नु भयो
र पनि हिम्मत हार्नु भएन
बरु गुमनाम हुनु भयो
तर बदनाम हुनु भएन
बा कहिल्यै उभिएको देखिन
चौतारीको पीपल झैँ

तर पनि बा कहिल्यै
थाक्नु भएन
सधैँ सन्तानको अँध्यारो मेटाउन
सन्तान सुखको निम्ति
आफैँ निख्रिएर
मैन झैँ जलिरहनु भयो
सन्तानको खुशी समेट्न
उकालीमा
नुन बोकेको भरिया झैँ
काँधभरी जिम्मेवारी बोकेर
एक्लै एक्लै हिँड्नु भएका मेरा बा’लाई
एक्लोपनले कहिल्यै छाडेन

यतिबेला
आफ्नै जिन्दगी
शिशिरमा लागेको कुहिरो झैँ
भारी लागेको छ
बा’को अन्योल जिन्दगीलाई
यौटा गतिलो भरोसा बन्न नसक्दा
बा डाँडा माथिको जून
अझै भनौँ
कर्कलाको पानी
आँसु टिलपिलाएका आँखामा
निद हराए झैँ
एक मुठी खुशीहरुको सिला खोज्दैछ
थैली झैँ मुजा परेका
अनुहारका धर्साहरु
धर्मराई रहेका छन्

बोल्दा बोल्दै दबिन्छ बा’को बोली
एक छिनको आराम पछि
अवरुद्ध गला खारिएर
बोल्नु हुन्छ तर पनि
दम भेट्दिन
थाहा छ
बा भित्र पीडाको चारवटा पृथ्वी  छ
र पनि पीडा दबाएर
मुस्कुराएको अभिनय गर्नु हुन्छ
म जान्दछु बा’को मुस्कान
बनावटी  मुस्कान हो।

रङ्ग उडेको कमेरो जस्तै
उदासी भित्ताहरु
टाँसिएका छन् बा’का अनुहार भरि
चाउरिएको छ बेदनाले नशाहरु
कतै एक मुठि सन्तोष छैन
बा’भित्र पीडाको पहाड छ
बा’लाई त्यही कालो पहाडले थिचेको छ
र पनि बा गल्नु हुन्न
मेरो बा
स्वाभिमानी युगपुरुष
यौटा खुल्ला आकाश ।