आफ्नो आसनमा बसेर जसले, आदेश ठाडो दिए
न्यानो भित्र लुकाउदै चुप रहे, सर्वत्र जाडो दिए
अध्यारै छ यहाँ फलाम चिउरा, हर्दम् चपाए पनि
मेरा यी हात पाखुरा अघि सरुन्, तक्मा नपाए पनि ।
।१।
नाताले नतिजा दियो यदिभने, के जाँच मैले दिनु ?
भ्राताको भतिजा थियो यदिभने, चम्चा जुटे सम्झिनु
आए आखिर काखमा कलमले, टाढा धपाए पनि
आँखा यी मधुरा नहुन् नजरमा, तक्मा नपाए पनि ।
।२।
खोजी जागिर खा सदैव सजिलो, पैसा भए जीवन
गोजी गम्म भए जहाँ पनि गए, प्यारो छ आफ्नोपन
मैले गर्छु विरोध आज अरुले, औंला कपाएँ पनि
गाढा प्रेम छ देशभक्ति दिलमा, तक्मा नपाए पनि ।
।३।
फेरिन्छन् अनुहार बाह्र महिना, बिक्री भए सांसद
होचा छन् अथवा झुके तलतिरै, अग्ला रहेका पद
तक्मा थाप्न सकून् समस्त दुनियाँ, हेरी लजाए पनि
मेरो नाक छ काख काख बसुँला, तक्मा नपाए पनि ।
।४।
स्वप्नाझैँ सुबिधा अनेक गतिमा, जान्छन् पखेटा चुँडी
आगो हौं उठ हे! जुरुक्क जनता, सम्पुर्ण फुट्छन् भुँडी
आओ शासनका सुधारक सबै, नेता नआए पनि
फेर्नैपर्छ पुरै कुशासन कुटी, तक्मा थमाए पनि ।
।५।
सिगास -२, बैतडी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।