सके तीन सय पैंसट्ठी दिनको तीन सय छयासठ दिन
हङ्ग्रायोको फोटो
खिच्न आउँछ
तोपजस्तै धोध्धोरे क्यामेरा बोकेर
कलकत्ते फोटो टुरिस्ट

राजा पुनियानी

विश्वकै सबैभन्दा बेसी इन्टरनेट युजर्स भएको देश भारतको
एउटा ऐतिहासिक अदेख कुना
लाटपञ्चर

कुइनाइनको नसाको जाल छ यहाँ
इन्टरनेटको फूल प्याकेज भरेर
चुरुप चुरुप नेटवर्क पाउन डाँड़ा चढ़्छ
र कराउँछ लाटपञ्चर
कु …

कोभिड प्यान्डेमिकमा अनलाइन क्लासको अभिनयमा
लाटपञ्चरले रटिबस्छ
लुते सिग्नल जस्तै घिसापिटा सिलेबस

परदेश लागेको युवा लाटपञ्चरले
आउने दसैँसम्म बचाइने सुँगुरलाई
चारो हाल्दै कमान हिँड़िरहेको
बूढ़ी लाटपञ्चरलाई भन्छ –
हो, म पक्कै-पक्कै फर्कनेछु । तिमीहरूले त्यतिन्जेल मेरो यादलाई मन्साइसकेको हुनेछौ । एउटा रातो हुरी भिरेर, एउटा नीलो भैंचालो सिउरेर आउनेछु । त्यसबेला तिमीहरूलाई लाग्नेछ – कस्तरी म तिमीहरूको सय साल निदाएको चेतभित्रै छटपटिरहेको थिएछु । त्यतिका दिनहरू । सालहरू । हो, म पक्कै-पक्कै आउनेछु । हल्लो सुन्दैछौ आमा ?

चरा खिच्ने
गाउँ चुस्ने
रक्सी खाने
प्रेम भोग्ने
टुरिस्टलाई
खुवाउँदै, स्याहार्दै
चुपचाप बसेको छ
आज पनि
स्याल्यामेन्डर जस्तै
लाटपञ्चर

हल्लो सुनिँदैन
कुइबिलाकको सिमसारमा

हल्लो सुनिँदैन
गुल्माको तालमा

हल्लो सुनिँदैन
झोलीको घुमाउरी झारमा

हल्लो सुनिँदैन
चुच्चे ढुङ्गाको दुबोमा

हल्लो सुनिँदैन
लाप्चे बस्तीको थुन्सेमा

हल्लो सुनिँदैन
घण्टी डाँड़ाको खियामा

स्याल्यामेन्डरलाई काखमा राखेको
लाटपञ्चरलाई
काखमा राखेको छ
स्याल्यामेन्डर ले नै ।

घाउ दुख्छ दुख्दैन
उसले केही भन्दैन
बोल्दैन
केवल टुलुटुलु हेर्छ
स्याल्यामेन्डर र
जन्मिनअघि मरिहाल्ने
समयको लाश बोकिबस्छ

स्याल्यामेन्डर र लाटपञ्चरको
कसैले नभनिदिएको
सपना र विपनाको ठेमर कथा
एउटै एउटै त छ

सिलगढ़ी नगरसँग जोड़्ने
लाटपञ्चरको कटमेरो बाटो
वर्षैभरि धस्किबस्छ
छ माइलको हंस उड़िबस्छ
करमठको कम्मर भाँचिबस्छ
सिटोङ, लङ्कु, लाब्दा बस्ती हुँदै
खरसाङ शहर, सोनादा शहर पुग्ने रफ बाटो
सालैभरि मातिबस्छ

बर्खाले जताततै जोतेको मूल बाटोको जिउ ठाँउ ठाँउ ठुन्किँदा
लाटपञ्चर बन्छ कालापानी
उसलाई न कतै जानुको रहर हुन्छ
न कतै पुग्नुको बाध्यता

इस्कुसको झोलसँगै
खैनीको रससँगै
चुरोटको धुँवासँगै
हम जाएगाको जोक्स सुन्दै
हाँसिबस्छ लाटपञ्चर

कुनै किताबमा नछापिएको
कुन्नि कस्ता बाङ्खुड़े कथाहरूमा छ
लाटपञ्चर

लाटपञ्चर
व्यस्त छ अचेल
देशले कहिल्यै नहेरिदिएको निउजफीडमा
लाटपञ्चरको बर्निङ निउज
पोस्ट गर्न