तिमी चोटको दुखाइ सहन नसकेर जति बेस्सरी रोऊँ
सडकका चोकहरू तिमीलाई हेरिरहन्छन्, मौन
तर मान्छे जस्ता भूतहरू रुँदैनन्, तिम्रो दुखाइमा
हाँस्दैनन् तिम्रा खुसीहरूमा
त्यसैले भूतहरू रुँदैनन्, आमा ।
तिम्रो आनन्दमा हर्षित हुँदैनन्
तिम्रा पर्वहरूका हर्ष, उनीहरू हर्ष मनाउॅंदैनन्
तिम्रा साथी हुन सक्दैन
अर्काको विचारमा समाहित हुँदैनन्
मान्छेजस्ता भूतहरू
तिमी अस्मिता दुखेको बेला रुन्छ्यौ
अन्यायले बाटो छेकेको बेला रुन्छ्यौ
प्रसव पीडा भन्दा बेस्सरी रुन्छ्यौ
त्यसैले भूतहरू रुँदैनन्, आमा ।
नदीछेउ जलिरहेको चिताजस्तै
तिम्रो मुटु जलिरहन्छ
आवाजहरू काँपिरहन्छन्, बर्बरताको चोटले
थलिएर थकित र चिन्तित मुद्रा सँगै
आँसु झार्दै रोई-रोई
न्यायको जति पुकार गरे पनि
सुन्दैनन् मान्छेजस्ता भूतहरू
त्यसैले भूतहरू रुँदैनन्, आमा ।
तिमी सुन्दर सपनाहरू आँखामा सजाउॅंछ्यौ
रमाइला विपनाहरूको अद्भुत चित्र कोर्दछ्यौ
भविष्यका लागि उज्यालो बाटो बनाउॅंछ्यौ
तर उनीहरू यसलाई धुलोजस्तै बनाइरहन्छन्, उडाइरहन्छन्
तिम्रा हातहरू काँडाले कोपरिरहन्छन्
र उत्सव मनाइरहन्छन्
मान्छेजस्ता भूतहरू तिमीलाई रुचाउॅंदैनन्
त्यसैले मान्छेजस्ता भूतहरू तिम्रो देश हाँस्ने गीत गाउॅंदैनन्, आमा ।
तिमी आफ्नो नवजात शिशुसँगै
भोकले छटपटाइरहँदा
शहीद पतिको वियोगमा झुपडीमा टोलाइरहँदा
उनीहरु विषालु सर्पजस्तै हाँसिरहन्छन्
नियोजित भोजमा लट्ठ परेको जड्याहाजस्तै
त्यसैले भूतहरू रुँदैनन्, आमा ।
तिमी पहाडहरूको आवाज सुन्दछ्यौ
तिमी नदीहरूको भाषा बुझ्दछ्यौ
तिमी झरनाहरूजस्तै बोल्दछ्यौ
तिमी माटाजस्तै फल्दछ्यौ
तिमी हिउॅंजस्तै पग्लन्छ्यौ
तिमी बरफभित्रको कोमलता बुझ्दछ्यौ
तिमी अबोध भावनाहरूसँग रमाउॅंछ्यौ
उनीहरू तिमीलाई सताइरहन्छन्
त्यसैले भूतहरू रुँदैनन्, आमा ।
भरतपुर, चितवन
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला