नेपाल राष्ट्र निर्माणकर्ता गोर्खालीको छोरो
एक दर्जन गर्जनसहित बोल्छ स्वर्गबाट
शासन जनताको होस्
इतिहास बिर्सेर हैन सम्झेर
सम्झन्नौ त जरुर हल्लाइदिन्छ
भवितव्यले भुगर्भबाट ।
रोक्यो नै कसले उनलाई
माटोको खोजीमा हिड्दा
नाघेर अनगिन्ती पहाडहरू
तरेर सयौं जङ्घार
अविरल यात्राको सङ्घारमा पुग्दा नपुग्दै
झरेको तारा
हो वास्तवमा सर्वहारा ।
आफ्नै आलो घाउमा छर्केर नुनलाई
बिर्सनु हुन्न राष्ट्र निर्माणको गुनलाई
फलाम नभनौ सुनलाई
बादल बनेर नछेकौँ जूनलाई ।

भानसिंह धामी

टिष्टा र सतलजबाट
भूगोल र नक्सामा
सिमाना खुम्चिएर पनि
देशको नक्साको चुच्चो रहोस्
बरु दुनियाँले चुच्चे नै किन नभनोस्
पढेर लेखेर होस् वा परेर देखेर होस्
वरिपरिको लागि होस् वा
घरीघरीको लागि होस्
बढेर पनि भुतदेखि भविष्यसम्म सदैव
नेपाली मनुष्यको कद उच्चो रहोस्
उफ ! दुनियाँले दोहोर्‍याएर/ तेहर्‍याएर
बालकझैँ एकदम ज्ञानी फुच्चे नै किन नभनोस्
ए ! मेरो राष्ट्रको वर्तमान शासक
पुर्खाहरूका खाँतिर
माथि राखेर ईमान
उडाउनुपर्छ अन्तरीक्षसम्म
नेपाली हृदयको समृद्ध विमान ।
पृथ्वीनारायण राजा थिएनन्
अभियान आरम्भकर्ता थिए
निर्माता थिए
निर्णय थिए
नियात्रा थिए
र निर्माण थिए
यो विनिर्माणकाे मौसममा
भुकम्पले भत्काउदैमा भुमि अर्काको हुँदैन
हामीले नै भुकम्प ल्यायौँ
भुइँमा थचक्क बस्न हैन
शीर ठाडाे पारेर आफैलाई उभ्याउन
जुगौजुगसम्म टिकाउन
लोकतन्त्रको शासन हाम्रो
भुल्नु हुन्न जग
नत्रभने लगभग
अन्यथा मैले मलाई नै चिन्ने छैन
भुकम्पले पुरिएको घरभित्र
भित्तामा टाँसिएको चित्रले रोइरहेको बेला
म सुन्ने छैन त्यो क्रन्दन
अनुभव गर्ने छैन
विविधतामा एकताको स्पन्दन
आखिर ‘लगन पछिको पोते’ के काम ?
आफैंलाई भुलेर निर्माण गरेको
अमुल्य जीवनको नयाँ पहिचानको के काम ?
आधारस्तम्भ विनाको अग्रगमन कहाँ आउँछ ?
अग्रगामी छलाङ मार्न विगत अपरिहार्य छ ।
                    *****
             सिगास – २, बैतडी