म जिउँदै छु
 पल-पल आफैँभित्र मरेर पनि
 आफ्नो जन्मलाई नै धिक्कार गरेर पनि
 मानसपटलमा ब्रह्माण्ड बोकेर अनि
 सामुन्ने मृत्युलाई देखेर पनि,
 म जिउँदै छु,
 भावनाका वेगहरूमा व्यवहारको बाँध बाध्दै
 गन्तव्यमा छुटेकासँग आत्मीय साँध राख्दै
 कसैका सपनाहरू भेटाउन
 आफैँलाई मेटाउँदै
 दिनसँग सङ्घर्ष अनि रातसँग सम्झैता गर्दै छु
 निलो आकाशजस्तो
 जुन मूर्त सम्झँदा अमूर्त छ
 अनि अमूर्त मान्दा मूर्त छ
 म त्यस्तो गन्तव्यमा हिँड्दै छु,
 म जिउँदै छु,
 स्टेसनमा बस पर्खिएर बसेको यात्रीजस्तै
  म मृत्युलाई पर्खँदै छु
  बस आउन्जेल केही अलमल
 गरौँ न त भनी कुनै अपरिचितसँग निरर्थक साक्षत्कार गरेझैँ
  म पनि जीवनमा अलमलिँदै छु
  वास्तवमा म मृत्युको जोलिया भएर जिउँदै छु,
  तर म जिउँदै छु,
 न जीवन न मृत्युको मोह
 न जीवन न मृत्युको भय
 बिचित्रको शून्यता
 न त जिउन नै उत्साहित छु
 न त मर्न हतारिएको
 म त कसैले च्यातेर गएका अतीतका ति लोभलाग्दा सपनाहरूलाई
 समयको लेप लगाएर टाल्दै छु
 अनि एक सर्को हावा आएर निभाएका ती आशाका दीपहरू बाल्दै छु
 तर खासमा मृत्यु पर्खँदा जिन्दगीमा केही अलमल गर्दै छु,

 म जिउँदै छु,

डिजन रेग्मी

        ******     
 म त मानव गुण नै गुमाएको
 भावनाहरू हराएको
 एक पागलजस्तै भएको छु
 मभित्र कुनै आन्तरिक द्वन्द्व छैन
 न त कुनै अभिलाषा नै
 म त यौटा जङ्गम भएको छु
कति लक्ष्य र व्यवहारमा जेलिएर जिन्दगीलाई दु:खयातनामा डुबाउनेहरूबिच
 मैले जिन्दगीलाई फुर्सद बनाएको छु
 यस्तो फुर्सद जहाँ मलाई कुनै चिज बनाउनु छैन, कुनै चिज कमाउनु छैन
 यस्तो फुर्सद जहाँ म आफैँ मनोरञ्चक छु
 म आफ्नो खुसी गर्न सक्छु
  न केहीको साँध,
  न समयको बाँध
  निरन्तर नशा पिउँदै छु,
  म जिउँदै छु,
अब त मलाई साथ छुटेर गएका आत्मीय सखीहरूको लोभ पनि छैन
 अनि कोही नयाँसँग आत्मीयता बढाउन त भन्ने भोक पनि छैन
 म त मेटिइसकेको छु
 ममा दु:ख र सुखको भेद हराइसकेको छ
 म सुखमा पनि हाँस्छु
 म दु:खमा पनि हाँस्छु
 भुससँगै उडेर जाने
 पोगटो धानजस्तो छु
 सांसारिकतामा कुटिएर
 मभित्रका सुखदु:ख
 मेरो-तेरो
  ठुलोसानो
 सबै भेदहरू हराइसकेका छन्
  म भरिएर पनि रित्तिएको छु
  अनि रित्तो भएर पनि भरिएको छु
  न पोखिने डर
  न भरिने लोभ
  मेरो भूत कालले वर्तमान र भविष्यलाई जोडिदिएको छ
  त्यसैले त म सधैँ नाच्दै छु
  सधैँ गाउँदै छु
  अनि सधैँ रमाउँदै छु,
  म जिउँदै छु,
  जिन्दगी जिउँदै छु ।