आमाको सपना जपेर मनमा धर्ती उचाल्दै थियौँ
उर्लेको खहरे बनेर जगका ढिस्का फुटाल्दै थियौँ ।।
नारेरै हलगोरु खेतभरिमा गाभो घुसार्दै थियौँ
बिर्स्यौँ खोक, हलो जुवा नि अब ता कुर्सीपियारा भयौँ ।।१।।

कोदालो हँसिया लिएर सबले कान्ला खनेका थियौँ
चर्को घाम सहेर तप्प पसिना थोपा गनेका थियौँ ।।
हातेसार गरेर सर्वजनमा मायाँ छरेका थियौँ
मेलापात सबै भुलेर अब ता कुर्सीपियारा भयौँ ।।२।।

वर्षाको ऋतुमा असार महिना माटो पगाल्दै थियौँ
रोदीका लहरी उनेर स्वरमा भाका सँगाल्दै थियौँ ।।
सारा भाइ मिलेर भीरतिरको बाटो खनेका थियौँ
बिर्स्यौँ खोँच पहाड टार अब ता कुर्सीपियारा भयौँ ।।३।।

नारायण मरासिनी

आफ्नै मात्र भनेर हैन यसरी साझा जिएका थियौँ
सेवाभाव लिएर त्यो समयमा पीडा पिएका थियौँ ।।
गावैँमा रहँदा समान गुणले भोटो कसेका थियौँ
बिर्सेछौँ फरिया कछाड अब ता कुर्सीपियारा भयौँ ।।४।।

माटाको महिमा बुझेर जगमा बेर्ना उमाऱ्यौँ सयौँ
खाई मानु मुरी फलाउन भनी सास्ती खपेका थियौँ ।।
बाह्रै मास सहेर चोट समता मेलो गरेका थियौँ
डोको स्याखु सबै भुलेर अब ता कुर्सीपियारा भयौँ ।।५।।

ज्याग्दीखोला स्याङ्जा,