मानौँ कुनै अलौकिक अट्टालिका हो यो
अग्ला-अग्ला पर्खालहरूले घेरिएको
सीमान्त हाताभित्रको शेष भूखण्डभन्दा
नितान्त पृथक्
राजधानीको मुटुमा अवस्थित
देशको केन्द्रीय सचिवालय, सिंहदरबार हो यो ।
देख्दा त छ अत्यन्त राम्रो !
चारैतिर बनाइएको कलात्मक कौसी/सिसी टिभीले सुसज्जित
विस्तृत परिसर, फराकिला र चिल्ला सडक
गजबको तडकभडक ।
अशोक, गुलमहर र शिरीषको सघन छहारी
किन्तु अग्ला पर्खालले परिवेष्टित यो दरबार
बडो रहस्यमय छ, अथाह छ र अगम्य छ ।
रुकुम, रोल्पा र जुम्लाको कुरै छाडौँ
मुगु, कालीकोट र हुम्लाको कुरै छाडौँ
त्यहीँ परको जीतपुरफेदी पनि
सिंहदरबारभित्र पस्नै डराउँछ
कदाचित् पसिहाले पनि
गन्तव्यमा नपुगी, बीचमै हराउँछ ।
बेलायती बैठकको भुलभलैया !
दुब्लो मान्छे घ्याम्पे देखिन्छ
पुड्को मान्छेले दलिन छुन्छ
बहुरूपी ऐनाको कमाल !
नपत्याउनु वास्तविकता अर्कै हुन्छ ।
तोड्नुपर्छ बहुरूपी सिसाका ऐनाहरू
अब साँच्चिकै दर्पणहरू राख
वास्तविक र पारदर्शी
जस्मा देखियोस् वर्तमानको छर्लङ्ग स्वरूप
भत्काइदेऊ सिंहदरबारका अग्ला पर्खालहरू
जीर्ण अति जीर्ण भैसकेका छन्
हिजोअस्तिका चारखालहरू ।
हरेक नेपालीका हत्केलामा चुलिनुपर्छ अब
आस्थाका अग्ला सगरमाथाहरू
पारदर्शी प्रशासन मात्र बन्न सक्छन् अब
सुशासनका आधारहरू
त्यसैले आऊ अलौकिक अट्टालिका होइन
यसलाई जनताको सिंहदरबार बनाऊ
सहज, सरल र सुगम
जनताको वास्तविक सिहदरबार बनाऊ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला