थियो सानो बस्ती नगर बिचमा ताज पहिरी
थियो ठूलो स्वप्ना सगरभरमा शैलज सरी ।
लिई यौटा राम्रो कर कमलमा त्यो घरि घरी
भयो के हो यस्तो निकट जलमा वामन सरी ।।

थिए होचा होचा कदम कदमै खेद नलिने
थिए सारा मान्छे जनम जनमै राष्ट्र नदिने ।
थिए पुर्खा हाम्रा जिउँ त कसरी राष्ट्र नभई
भनी लड्थे सारा तब मुलुक यो हुन्छ त भनी ।।

चुँडेरै लग्लान् यी कि त सडकमा बार नभई
म नाचौँ या हाँसौँ मनुज हुनुको भाव नभई ।
छिमेकी देलान् खै करबल गरी जीव जिउने
लिएँ सोचेँ यौटा मकन कसरी देह जिउने ।।

कता जाऔँ हामी कठमहल छोडी कन उता
दिई मीठो बाचा पददलितको ढाडस यता ।
विदेशीका दासी नबन अब भो कत्ति नडगी
भनी देलान् भन्ने कति नियति भोग्छौ अब तिमी ।।

भयो कुर्सी प्यारो दश नगरभन्दा पनि ठुलो
दिई आफ्नो सीमा कुल वृषल बन्दै सब भुलो ।
थियो सीमा हाम्रो त सतलज टिष्टा वरिपरि
पराई मिच्दैछन् दशगज जिमाहा घरिघरी ।।

नहेरी को बस्लान् टुलुटुलु म हेरी कति बसौँ
म हेरी के सोचौँ तर भुटभुटी भै कति बसौँ ।
मिली आफ्नी आमा रक्षण गर्ने तिर सबै
गरौँ आलो पालो अब भक्षण त्यागीकन सबै ।।

शिखरिणी छन्द